गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने



काठमाडौंः अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

सोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत लगानी गर्ने घोषणा गरेको हो ।

अबको ५ देखि ७ वर्षभित्र भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने गुगलको योजना छ ।
भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको जनाइएको छ ।

भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन लगानीको योजना अघि सारिएको हो । कोरोना भाइरस (कोभिड-१९) को महामारीको क्रममा अनलाइन एक लाइफलाइन बनेको बताइएको छ ।

सन् २०१५ मा पहिलो पटक गुगल फर इन्डिया कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । सोमबार कम्पनीले छैटौं कार्यक्रम गरेको थियो ।

कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुन्दर पिचाईसँग छलफल गरेका थिए । छलफलमा उनले कोरोना भाइरसका साथै प्रविधिको भूमिकाको विषयमा चर्चा गरेका थिए ।

यसअघि अमेजनका सीईओ जेफ बेजोसले भारत भ्रमणका क्रममा एक अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता गरेका थिए भने उनले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलरको निर्यातमा सहयोग गर्ने बताएका थिए ।

चीनले गुगललाई प्रतिबन्ध लगाएपछि विश्वको ठूलो शक्ति र बजार भएको देश भारतमा गूगलले लगानी गर्ने भएको छ । ५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतमा गुगलले आफ्नो बजार प्रभुत्व स्थापित गर्ने लक्ष्य लिएको छ । कम्पनीले उक्त लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फन्ड अन्तर्गत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्