प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित



काठमाडाैँ : प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थिगित भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाालका सांसदहरुले अवरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १० मिनेटका लागि  बैठक स्थिगित गरेका हुन् । 

बैठकको सुरुमै राजपाका सांसदहरुले उठेर विरोध जनाएपछि  सभामुद महराले राजपाका सांसद राजकिशोर यादवलाई बोल्न समय दिएका थिए । 

सांसद यादवले  यसअघिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने राजपाका सांसहरुको मागप्रति दिएको जवाफ चित्तबुझ्दो नभएको बताए ।

सरकारले मधेस तथा थरुहट आन्दोलनमा भएका घटनाबारे छानविन गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग बनाएको थियो । तर, आयोगले प्रतिवेदन बुझाएको लामो समयसम्म सार्वजनिक नभएको भन्दै राजपाले तत्काल  सार्वजनिक गर्न  माग गर्दै आएको छ ।

सांसद यादवले  लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताए । सभामुख महराले पटकपटक बस्न आग्रह गर्दापनि सांसदहरुले विरोध जनाएपछि बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्