प्रतिनिधिसभा बैठक : निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश



काठमाण्डौ : प्रतिनिधिसभामा ‘निर्वाचन आयोगको आव २०७४÷०७५ को वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

आजको बैठकमा  प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गर्नुभएको हो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५’ सदनसमक्ष आजै पेश गर्नुभयो ।

त्यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पनि सदनसमक्ष पेश गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक २०७५’ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले बहुमतले स्वीकृत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्