दोस्रो बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने तयारी



अप्रिल अन्त्यतिर हुने दोस्रो बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) को दोस्रो सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्। 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार त्यसैताका चीन भ्रमणमा जाने राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा पनि सहभागी हुने तयारी भइरहेको छ। तयारी चलिरहेकाले उनको चीन भ्रमणको विस्तृत औपचारिक विवरण आइसकेको छैन।

राष्ट्रपति भण्डारीले सम्मेलनकै दौरान हुने राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको राउन्डटेबलमा समेत सहभागिता जनाउने छिन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुने नहुने टुंगो नलागे पनि राष्ट्रपति भण्डारीको चीन भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। 

पहिलो राष्ट्रपति डा.रामवरण यादव सन् २०१० मा संघाई वल्र्ड एक्स्पोमा सहभागी हुन चीन भ्रमणमा गएका थिए । त्यसपछि उनी  बोआओ फोरममा सहभागिता जनाएका थिए।

यतिबेला चीन बीआरआईको दोस्रो सम्मेलनको तयारी गरिहेको छ।  चिनियाँ राष्ट्रपति सीले सम्मेलन उद्घाटन गर्ने जानकारी चीनका विदेशमन्त्री वाङ यीले दिएका छन्। 

पत्रकारहरूसँग प्रेस ब्रिफिङमा परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना हुने बीआरआई सम्मेलनमा सयभन्दा धेरै देशका राष्ट्रप्रमुख वा सरकारप्रमुख सहभागी रहने बताए। सम्मेलनअन्तर्गत नै उद्योगी सम्मेलन पनि हुने जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस्