सशस्त्र प्रहरी यादवको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ



जनकपुरधाम : सिरहामा सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरी बिहीवार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय दिपेश कुमार यादव र २२ वर्षीय मुकेश कुमार यादव रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

डीआईजी सिंहले भने,‘एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको पाइएको छ,’ ‘उनीहरुलाई प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले पक्राउ गरेको हो ।’

गत असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रदेश प्रहरी प्रमुख डीआईजी बताए ।

पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्