बिहीबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा बिहीबार थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४३ जनाले ज्यान गुमाईसकेका छन् ।

यस्तै मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार ९८ छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार १८० छन् । आज मात्रै १०० जनाले इन्ट्री गरेकामा आज कोही पनि रेड जोनमा नपरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्