प्रचण्डलाई अध्यक्षबाट हटाउने ओलीपक्षको आन्तरिक गृहकार्य !



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नेकपाका संस्थापक नेताहरु पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृति कार्यक्रमका अवसरमा पार्टी आन्तरिक विवादबारे सार्वजनिक रुपमा मुख खोल्दै आफूलाई पार्टी अध्यक्षबाट हटाउन ओली पक्षधरहरु लागिपरिरहेको खुलासा गरेका छन् ।

सिद्धान्त, नीति, कार्यक्रम एकातिर हुनु र त्यसलाई कार्यान्वयन गर्ने सरकारी संस्था अर्कोतिर हुनु विडम्बनापूर्ण भएको भन्दै उनले पार्टी सिद्धान्ततः विभाजित रहेको संकेत समेत गरेका छन् । केहीदिन अघिसम्म प्रचण्ड–नेपाल पक्षधर एकातिर र ओली पक्षधर अर्कोतिर गरी दुई पक्षधरतामा देखिएको सत्तारुढ दल पछिल्लो चरणमा आएर पूर्व एमाले र पूर्व माओवादी केन्द्रको बसाइसँगै ओलीपक्षधर, प्रचण्डपक्षधर र नेपालपक्षधर गरी स्पष्ट त्रिगुटमा देखा परेका छन् ।

प्रधानमन्त्री ओलीको पार्टी तथा सरकार दुवै चलाउने ढंग नपुगेको भन्दै दुवै जिम्मेवारीबाट राजीनामा दिन दबाब दिइरहेका बेला प्रधानमन्त्री ओलीले माधव नेपाललाई पार्टीको अध्यक्ष बन्न र आफू सरकारको जिम्मा लिन आन्तरिक रुपमा प्रस्ताव गरेपछि अध्यक्ष प्रचण्ड निकै झस्कन पुगेका छन् । त्यसो त नेकपामा पार्टी एकता भएदेखि दुईजना अध्यक्ष रहने सहमति कायमै छ ।

यो प्रसंगसँगै आफूले गरेका कमीकमजोरी सच्याउने र पार्टी बहुमतले दिएको निर्देशनको पालना गर्ने भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व पार्टी नेकपा एमालेलाई पुनः अस्तित्वमा ल्याउने गरी विधिपूर्वक निर्वाचन आयोगमा पार्टी दर्ता गर्न लगाएपछि अध्यक्ष प्रचण्ड निकै सतर्क रहेका देखिन्छन् । उता प्रधानमन्त्री ओलीको पक्षधर भने प्रचण्डले बोल्ने र चाल्ने हरेक कदमहरु मिहिन तरिकाले नियालिरहेको छ । पार्टी सचिवालयको बैठकमा पार्टी महाधिवेशन यही मंसिर महिनाभित्र गरिसक्ने प्रस्ताव प्रम तथा पार्टी अध्यक्ष ओलीले गरेपछि सत्तारुढ पार्टीका शीर्ष नेताहरु थप सशंकित हुन पुगेका छन् ।

यसै विषयलाई लिएर स्थायी समिति सदस्य शंकर पोखरेल फेसबुक स्टाट्समा लेख्छन्– ‘पार्टी एकता गर्दा दुई वर्षमै महाधिवेशन गछौं भन्ने नेताहरु तीनवर्षभित्रै महाधिवेशन गरौं भन्दा पनि सकिदैन भने पन्छन खोज्नु उचित हो र ?’

तर यसलाई पार्टीले दिएको निर्देशन सचेत रुपमा उल्लंघन गर्न र तोडमरोड गर्न प्रधानमन्त्री ओलीले मंसिर महिनाकै समय सीमा तोकेर यो असंभव कुरा अघि सारेको प्रचण्डको ठम्याइरहेको देखिन्छ । सिधै भन्न निकै अप्ठेरो परेपछि प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको प्रसंग कोट्याउँदै उनले ‘२००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाउनु, १० सालमा उहाँलाई महासचिव हुनबाट रोकिनु, २०१४ सालमा पार्टीको नीति र कार्यदिशा पुष्पलालकै पारित भए पनि नेतृत्वचाहिँ रायमाझीले गर्नुले’ नेपाली वामआन्दोल षड्यन्त्रको चक्रब्युहमा फस्दैआएको तर्फ संकेत गरेका छन् । त्यो प्रवृत्तिलाई पछि रायमाझी प्रवृत्ति भनेर संश्लेषण गरिएको अवस्थाको स्मरण गर्दै प्रचण्डले अहिले पनि त्यहीखाले बिडम्बनापूर्ण स्थितिको सिर्जना हुनगएको संकेत गरेका छन् । यो हालको अवस्थामा पार्टीको निर्देशन नमान्ने र उल्टै पार्टी अध्यक्षविरुद्ध खेल खेलिने रुपमा लिएका छन् ।

प्रचण्डले ‘हामीभित्रको समस्याको चुरो त्यतै कतै पो छ कि ?’ भनिरहँदा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा पारित र जारी गर्दाको अवस्था पनि कोट्याउन पुगेका छन् । नक्सा पारित गरौंभन्दा नमान्ने प्रधानमन्त्री आज आफूले त्यो सबै काम गरेको जिम्मा लिंदै हिँडेको कुरामा चित्त नबुझेको पनि दोहर्याएका छन् । यसको बारेमा टिप्पणी गर्दै नेता शंकर पाखरेल सामाजिक सञ्जालमा थप टिप्पणी गर्छन्–‘कालापानी सीमा विवाद पुरानै हो, आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आएर मैले नै गरेको हो कसरी भन्न सकेको ?’

आन्तरिक विवाद सतहमा आएसँगै यसले नयाँ मोड लिने देखिएको छ । प्रचण्डको अभिव्यक्तिले ओलीपक्षधरद्वारा आन्तरिक रुपमा गरिएको तयारी सतहमा ल्याउन सहज वातावरण सिर्जना गरिदिएको देखिन्छ ।

प्रकाशित : साउन १०, २०७७

प्रतिक्रिया दिनुहोस्