माधव नेपालले भने–‘नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्छ’



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताएका छन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताए ।

नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उनको भनाई छ ।

राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाई छ ।

नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा राख्दै उनले भने–‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन । त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय । जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलन देखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ ।’

साथै नारायणहिटीलाई राजा महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्ने र त्यहाँ अन्य कुनै कुराहरु गर्न नहुने बताए ।

प्रकाशित : साउन १०, २०७७

प्रतिक्रिया दिनुहोस्