जलाउन लागिएको शव प्रहरी नियन्त्रणमा



जनकपुरधाम : धनुषामा घटना शंकास्पद देखिएकोले जलाउन लागिएको शवलाई प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–२ कचहरी टोल बस्ने ८० वर्षीय राम विलास ठाकुरको शवलाई चिताबाट नियन्त्रणमा लिइएको हो ।

ठाकुरको परिवारिक सदस्यले शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको क्लिनीकमा लग्दा त्यहि उनको मृत्यु भएको बयान दिएका छन् । तर, मृतक ठाकुरको जिउमा निलडाम र टाउकोमा रगत जमेको हुँदा घटना शंकास्पद देखिएको र उनको हत्या गरिएको हुनसक्ने भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले ठाकुरलाई कुटपिट गरी हत्या गरेको जानकारी र आशंकाका आधारमा शव नियन्त्रणमा लिएको हो । ठाकुरको शवलाई पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक पप्पु नायकले बताए ।

बटेश्वरको बडहरी खोलामा जलाउँदै गर्दा ठाकुरको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : साउन १०, २०७७

प्रतिक्रिया दिनुहोस्