महिलालाई दुर्व्यवहार गरेको आरोपमा नविनसहित ४ पक्राउ, रिहा गर्न प्रहरीलाई मन्त्री र मेयरको दवाव



जनकपुरधाम : जनकपुरको एक क्याफेमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टीका संघीय परिषद सदस्यसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार राति करिव १० बजे जनकपुरको शिवचोकस्थित जेएफसि क्याफेमा खाजा खाने क्रममा दुई महिलालाई जनता समाजवादी पार्टीका स्थानीय कार्यकर्ता नविन यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।

जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नविन यादव, गणेश पजियार र अन्य २ जना महिलासहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले पीडित महिलाहरुले आफुहरुलाई नविनले जिस्क्याउदैँ दुर्व्यवहार समेत गरेको बयान दिएपछि उनीहरुकै बयानको आधारमा पक्राउ गरिएको उनले बताए ।

यता उनलाई छोडाउनका लागि राति देखि नै आफुहरुलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको दवाव आईरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

प्रकाशित : असाउ ११, २०७७

प्रतिक्रिया दिनुहोस्