रञ्‍जन कोइराला प्रकरण : सर्वोच्चले दियो पुनरावलोकन गर्ने अनुमति



काठमाडौं : सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन हुने भएको छ । श्रीमती हत्यामा सर्वश्वसहित जन्मकैदको फैसला घटाएर साढे ८ वर्ष मात्र कैद सजाय गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोक हुने भएको छ ।

आज (आइतबार) सर्वोच्चका तीन जना न्यायाधीशको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले पूर्वडीआईजी कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो । सो फैसलाविरुद्ध शुक्रबार सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता भएको हो । न्याय प्रशासन ऐनको दफा ११ (२) अनुसार पुनरावलोकनको निवेदन दर्ता भएको हो ।

जिल्ला अदालतले पत्नी हत्याको मुद्दामा कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध कोइराला पुनरावेदन अदालत गएपनि जिल्ला अदालतकै फैसला सदर भएको थियो । त्यसपछि कोइराला सर्वोच्च अदालत पुगेका थिए । असार १५ गते सोही मुद्दामा फैसला गर्दै सर्वश्व र जन्मकैदबाट घटाएर साढे ८ वर्ष कैद गर्दा सजायको मक्सद पूरा हुने फैसला सुनाइएको थियो ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्