स्याङ्जा १० दिनका लागि बन्द



स्याङजा : समुदायस्तरमा कोरोनाभाइर (कोभिड–१९) संक्रमण फैलिन थालेपछि स्याङ्जा जिल्ला १० दिनका लागि बन्द गरिएको छ ।

पुतलीबजार नगरपालिकामा एकाएक संक्रमितको संख्या बढेपछि कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २३ गतेसम्म जिल्ला बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

थप सजगता तथा सतर्कता अपनाउन भन्दै जिल्ला बन्दको घोषणा गरेको जनाउँदै अत्यावश्यकबाहेकका बस्तु र सेवा प्रवाह नगर्न नगराउन प्रजिअ क्षेत्रीको आग्रह गरे । यसैगरी जिल्ला सुरक्षा समितिको बैठकले पनि योभन्दा अगाडि जारी गरेको निशेधाज्ञा अर्को आदेश नभएसम्म यथावत राख्ने निर्णय गरेको छ ।

अत्यावश्यक काममा लागि समेत सामाजिक, भौतिक दूरी कायम राख्नुपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र एक स्थानमा ५ जनाभन्दा बढी भेला नहुन सूचित गराइएको छ । प्रजिअ क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा सूचनाको बर्खिलाप काम कारवाही गरेमा संक्रामक रोग ऐन २०२० स्थानीय प्रशासन ऐन २०२८ अनुरुप कारवाही गरिने जनाइएको छ ।

स्याङ्जामा बुधबर बिहान एकजना प्रहरीमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित प्रहरी कर्मचारीको संख्या ३८ पुगेको छ । उनीहरु सबैलाई कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्