जनकपुरबाट अयोध्याको राम मन्दिरमा ईंटा थप्नुपर्ने आवश्यकताः उपसभापति निधि



जनकपुरधामः नेपाली काँग्रेसका उपसभापति समेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतको उत्तर प्रदेशस्थित आयोध्यामा शिलान्यास हुने राम मन्दिरमा माता सीताको पनि प्रतिमा राख्न आग्रह गरेका छन् ।

राम र सीता एकअर्काको परिपूरक रहेको भन्दै उपसभापति निधिले अयोध्यामा निर्माण हुन गइरहेको राम मन्दिरमा सीताको समेत प्रतिमा स्थापना हुनुपर्ने र जनकपुरबाट राम मन्दिरमा ईंटा थप्नुपर्ने बताएका छन् ।

विहिबार जनकपुरका सञ्चारकर्मीहरुसँग टेलिफोनमा कुराकानी गर्दै नेता निधिले भने,‘पछिल्लो विवाह पञ्चमीको अवसरमा अयोध्याबाट आएका विशिष्ट व्यक्तिहरुलाई राम मन्दिर स्थापना हुँदा सीताको समेत प्रतिमा स्थापना हुनुपर्ने हामीले भनेका थियौं । उहाँहरुले पनि यसलाई स्वीकार गर्नु भएको थियो । अब, अयोध्यामा रामको मुर्तिको निर्माण हुन गइरहेको छ । रामका साथै सीताको पनि प्रतिमा स्थापना हुनुपर्दछ ।’

सीताबिनाको राम अधुरो रहने भएकोले अयोध्यामा रामका साथै सीताको पनि प्रतिमा निर्माण हुनुपर्ने आफ्नो चाहना रहेको उनले बताए । अयोध्यामा राम मन्दिर निर्माणको क्रममा जानकी मन्दिरका महन्त रामतपेश्वर दाससहित आफ्नो समेत सहभागी हुने चाहना रहेपनि कोरोना महामारीका कारण सहभागी हुन कठिन रहेकोले जनकपुरको तर्फबाट प्रतिनिधित्व हुनु जरुरी रहेको उनले बताए ।

‘विवाह पञ्चमीमा अयोध्याबाट जनकपुर आउने जन्तीलाई हामीले स्वागत गर्ने गरेका छौं, सीताबिना रामको भूमिका अधुरो हुन्छ, अयोध्याबाट आएका श्रीराम न्यासका प्रतिनिधिलाई हामीले भनेका थियौं,’उनले भने,‘उहाँहरु पनि सकारात्मक हुनुहुन्थ्यो, ५ अगस्तमा राम मन्दिर शिलान्यासको कार्यक्रममा सम्भव भए त्यहाँ पुगेर जानकी मन्दिरले जनकपुरको प्रतिनिधित्व गर्नु प¥यो । सम्भव नभए राम मन्दिर शिलान्यासको अवसरमा जानकी मन्दिरले जनकपुरमै धार्मिक कार्यक्रम आयोजन गर्नु पर्दछ ।’

कोरोना संकटको अवस्था रहेकोले त्यहाँ पुग्नसक्ने वातावरण नबने जनकपुरबाट अयोध्यासम्म सन्देश पु¥याउन उनले जानकी मन्दिरलाई आग्रह गरे । उपसभापति निधिले क्षमताअनुसार राम मन्दिर निर्माणमा सहयोग गर्न महन्त राम तपेश्वर दासलाई आग्रह गरेका छन् ।
‘भगवान रामको ससुराली जनकपुर छ, हामीलाई खुशी लागेको छ, अदालतको निर्णयपश्चात अयोध्यामा राम मन्दिर बन्दै छ,’ निधिले भने,‘राम मन्दिर निर्माणमा जनकपुरको भूमिका आवश्यक छ ।’

नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको भन्दै उनले कसैले चाहँदैमा सम्बन्ध नबिग्रिने दाबी गरे । अयोध्या रामको जन्मभूमि र मिथिला जानकीको जन्म भूमिरहेको पौराणिक मान्यतालाई कसैले अन्त्य गर्न नसक्ने नेता निधिको जिकिर थियो । कोरोना संकटको अवस्था रहेकोले त्यहाँ पुग्नसक्ने वातावरण नबने जनकपुरबाट अयोध्यासम्म सन्देश पुर्याउन उनले जानकी मन्दिरलाई आग्रह गरेका छन् । उपसभापति निधिले क्षमताअनुसार राम मन्दिर निर्माणमा सहयोग गर्न महन्त राम तपेश्वर दासलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्