मंगलको प्राचीन इतिहास अध्ययन गर्दै पर्सिभरेन्स रोभर



काठमाडौं : मंगल ग्रहका बारेमा धेरै खोज तथा अनुसन्धान हुन नसकेका बेला यसको प्राचीन इतिहास अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरीक्ष संस्था नासाले बिहीबार पर्सिभरेन्स रोभर त्यसतर्फ पठाएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यस्थित केनेडी स्पेस सेन्टरबाट एट्लास रकेटको सहाराले यसको प्रक्षेपण गरिएको हो । यसले सन् २०२१ को फेब्रुअरी १८ मा मंगलको जजोरो क्रेटरस्थित एक प्राचीन नदीको डेल्टा नजिकै अवतरण गर्ने छ । अवतरण गर्ने यो स्थान मंगलको प्राचीन नदीको मुहान र निकाससमेत रहेको नासाले बताएको छ ।

पर्सिभरेन्स रोभरले मंगलमा पाइने चट्टान, माटो, पानी, हावा आदिका स्याम्पल संकलन गर्ने जनाइएको छ । यो मिसन सफल भएपछि नासाको मंगल ग्रहमा मानिस पठाउने योजना रहेको बताइएको छ ।

मंगल ग्रहमा हुने एक वर्षको समय पृथ्वीका लागि ५ सय ८७ दिन हो । यो लगभग दोब्बर रहेको छ । पर्सिभरेन्स रोभरको मिसन अवधि एक मार्सियन वर्षको रहेको छ । त्यस अवधिमा रोभरले मंगल ग्रहको भूगर्भ अध्ययन गर्नुका साथै प्राचीन समयमा एक कोषीय जीवहरु रहे÷नरहेको बारेमा अध्ययन गर्नेछ ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्