घोरिदै सहयोगी, घेरिदै प्रचण्ड !



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी आन्तरिक विवादसँगै पछिल्लो चरणमा आएर पकड गुमाउन थालेको टिप्पणी हुन थालेको छ ।

गणतन्त्र ल्याउन र त्यसलाई संस्थागत गर्न उनले गरेको योगदानको स्मरण हुने गरी उनका विचारको संगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएसँगै फेरि उनी आफ्ना मान्छेहरुबाटै घेरिदै गएका छन् ।

संघीय चुनावताका निर्माण गरिएको वाम गठबन्धन र पछि बनेको नेकपा दुई अध्यक्षको चामत्कारिक सोचका कारण भएको बताउने प्रचण्ड अहिले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग टाढिदै गएका देखिन्छन् । प्रचण्ड–नेपालको पार्टी तथा संसदमा बहुमत भए पनि त्यही गतिमा अघि जान हिच्किचाइरहेको उनका सहयोगीहरुको आरोप छ ।

उनका निकटस्थ मानिने नेता हरिबोल गजुरेलले आफूले प्रचण्डलाई दिएको सुझाव सञ्जीवनी बुटी नै भएको तर त्यसको प्रयोग गर्न प्रचण्डको हिम्मत र साहस नदेखिएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । यसमा दुःख मनाउ गर्दै गजुरेलले यदि यस्तै सुझाव केपी शर्मा ओलीलाई उनले दिएको भए उनले त्यसको प्रयोग गरिसकेका हुन्थेसमेत भनेका छन् ।

जनयुद्ध गर्दा, शान्ति प्रक्रियामा आउँदा, नयाँ संविधान बनाउँदा, संसदमा जाँदा, स्थानीय र प्रदेश सरकारको निर्वाचन गराउँदा प्रचण्डमा देखिएको उत्साह, साहस र निर्णय क्षमता सह्रानीय रहेको बताउँदै गजुरेलले पछिल्लो चरणमा प्रचण्डको निर्णय गर्नसक्ने क्षमतामाथि नै प्रश्न चिह्न खडा हुँदै गएको बताएका छन् ।

अर्का नेता मणि थापाले आफूहरु प्रचण्डकै साथमा रहनुपर्छ भन्ने बाध्यता नरहेको स्वीकार गर्दै प्रचण्डले पछिल्लो चरण चालेको स्टेप पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने खालको नभएको र त्यो केवल ‘पावर शेयरिङ’ गर्नेतर्फ मात्र उद्धृत रहेका बताएका छन् । थापाले झगडा भए पनि र एकता भए पनि केपी ओलीसँगै हो भनेर दिएको सुझाव नमानेर प्रचण्डले गल्ती गरेको बताउँछन् । उनले प्रचण्डले पार्टी एकता गिजोलेका हुनाले विचार नमिलेको बताएका छन् ।

त्यसैगरी ३५ वर्षदेखि सहकार्य गर्दै आएका नेता लेखराज भट्ट भन्छन्– ‘मैले त केपी शर्मा ओलीको विकल्प देख्दिन ।’ उनका अनुसार बल्लतल्ल आएको वाम सरकारलाई नयाँ इतिहास रच्नका लागि ओलीको नेतृत्वको निरन्तरता जरुरी छ ।

त्यसै गरी अर्का नेता टोपबहादुर रायमाझीले ओली र प्रचण्ड दुबैलाई पार्टी फुटाउने अधिकार नभएको बताएका छन् ।

यसका साथै बालसखा भनेर चिनिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्डको पक्षमा खुलेर नदेखिँदा सबै रनभुल्लमा परेका छन् । बादल देखिएका कुनै दुईलबी भन्दा पनि आफ्नै लबी कायम राख्न बचनबद्ध भएको देखिन्छन् । प्रचण्ड निकट मानिने जनार्दन शर्मा प्रचण्ड पक्षीय भेलाहरुमा उपस्थित नहुँदा ठूलो भ्रम पैदा भएको देखिन्छ ।

त्यसै गरी मातृका यादव लगायतका नेताहरुका अभिव्यक्तिले प्रचण्डलाई विगतदेखिको व्यवहार गम्भीर रुपमा सिंहावलोकन गर्न मानसिक दबाब पुर्याइरहेको देखिन्छ ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्