अमेरिका पनि टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने बताएका छन् । उनले स्थानीय समय अनुसार शनिबार राति पत्रकारसँग टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भएको र आफूसँग सो अधिकार रहेको बताएको सिएनएनले जनाएको छ ।

ट्रम्पले पत्रकारसँग भनेका छन्, ‘टिकटकका सम्बन्धमा रहेको चासोका बारेमा बताउनु पर्दा, हामी अमेरिकामा त्यसमाथि प्रतिबन्ध लगाउँदै छौँ ।’

त्यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार वा कार्यकारी निर्देशनको प्रयोग गर्न सक्ने ट्रम्पले बताए । तर त्यस्तो आदेश कस्तो खालको हुनेछ भन्ने स्पष्ट भएको छैन ।

ट्रम्प प्रशासनमा कार्यरत अधिकारीहरुले राष्ट्रपति ट्रम्पले टिकटक सञ्चालक चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटकको सञ्चालन अधिकारी बेच्न बाध्य पार्ने खालको आदेशको तयारी गरेको बताएका छन् ।

विदेशीको स्वामित्वमा रहेको टिकटक राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो निर्णय लिने तयारी गरेको स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्