जसपामा एक व्यक्ति एक पदको नीति : यस्तो बन्यो समायोजनको निर्देशिका



काठमाडौं : नवगठित जनता समाजवादी पार्टी (जसपा) नेपालले समायोजन निर्देशिका तयार पारेको छ । वैशाख १० गते राजपा र समाजवादी एकिकृत भएर बनेको जसपामा पार्टीका सम्पूर्ण तहको समायोजन प्रकृया मंसिर पूरा गरिसक्ने निर्देशिकामा भनिएको छ ।

जसपाका नेताद्वय लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदलले निर्देशिका २०७७ मार्फत पार्टीलाई आगामी मंसिरसम्म समायोजनका सम्पूर्ण काम पूरा गर्ने गरी सुझाव दिएको छ ।

पार्टी एकीकरणको कामलाई प्रदेश समिति तथा स्थानीय समितिहरु (जिल्ला, पालिका, वडा तथा प्रारम्भिक समिति) र भ्रातृ, जनवर्गीय संगठनहरु समायोजन गरी पूर्णता दिनका लागि कार्यदलले निर्देशिका तयार गरी पार्टीलाई बुझाएको छ ।

यद्यपि साउन २१ गतेदेखि बस्ने कार्यकारिणी समितिको बैठकले पारित गरेपछिमात्र निर्देशिका लागू हुन्छ । पार्टी एकीकरणमा सामेल तत्कालीन समाजवादी र राजपाका सबै तहका समितिलाई एकीकृत गरी समायोजन गरिने निर्देशिकामा उल्लेख छ ।

समितिका अध्यक्ष लगायतका नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ संगठनहरु लगायतका संगठनात्मक स्थिति र नेतृत्वमा प्रस्तावित व्यक्तिको क्रियाशीलता, वरिष्ठता, योग्यता, क्षमता र प्रभावकारिता आदिलाई समायोजनको मापदण्ड बनाइएको छ ।

समायोजनमा सहमतिको प्रयास गर्ने, सहमति नभए मापदण्डको आधारमा काम अगाडि बढाइने निर्देशिकामा उल्लेख छ । पार्टीका इन्चार्ज, सहइन्चार्ज तथा पदाधिकारीहरु चयन गर्दा मुख्य जिम्मेवारीहरुमा सन्तुलन मिलाएर एकभन्दा बढी संख्यामा रहेका पदहरु अनिवार्य रुपमा बाँडफाँड गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

समितिहरुमा पार्टी विधानको धारा ५९ बमोजिम सामान्यता एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति कार्यान्वयन गरी पदाधिकारी चयन गर्नुपर्ने भनिएको छ ।

विधानमा समान्यतः एक व्यक्ति एक प्रमुख जिम्मेवारी लिने उल्लेख छ । जसअनुसार सामान्यतया पदेनबाहेक माथिल्लो समितिका व्यक्तिहरु तल्लो समितिमा र तल्लो समितिका व्यक्तिहरु माथिल्लो समितिमा रहन नपाउने उल्लेख छ ।

सबै तहका समितिमा पदाधिकारी चयन गर्दा सम्बन्धित सामुदायिक विशेषता अनुरुप समावेशितालाई ध्यान दिनुपर्ने छ । समितिहरुमा एक तिहाई महिलाका साथै दलित र अल्पसंख्यक तथा सीमान्तकृत समुदायहरुलाई स्थान दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

कुनै ठाउँमा दुई पार्टीमध्ये कुनै एक पार्टीको मात्र समिति भए त्यसलाई जसपाको समितिको रुपमा पुनर्गठन गरी अर्को पार्टीका सदस्यहरु रहेको स्थानमा तिनिहरुलाई पनि योग्यता, क्षमतानुसार समेटिने निर्देशिकामा उल्लेख गरिएको छ ।

यस्तो छ प्रदेश संरचना
प्रदेश समितिहरुको समायोजनका लागि केन्द्रीय कार्यकारिणी समितिले विशेष व्यवस्था गर्ने भनिएको छ । दुवै पार्टी विगतमा एकीकरणको प्रकृयाबाट अगाडि बढेको सन्दर्भमा त्यतिबेला समायोजन हुन बाँकी रहेको भए त्यस कामलाई पनि अब यसै निर्देशिका बमोजिम एकीकृत रुपमा समायोजन गर्नुपर्ने उल्लेख छ । साथै प्रदेश समितिहरुको समायोजन पार्टी विधानको धारा ३३ को उपधारा २ बमोजिम तोकिएको पद र संख्यामा नबढ्ने गरी गर्नुपर्ने छ ।

प्रदेशमा अध्यक्ष १, उपाध्यक्ष ५, मुख्यसचिव १, सचिव ३, कोषाध्यक्ष १ समेत निर्वाचित, मनोनित र पदेन सदस्य गरी ९९ जनासम्म हुने उल्लेख गरिएको छ ।

प्रदेश समिति तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरु समायोजनका लागि केन्द्रीय टिम खटाइने निर्देशिकामा उल्लेख छ । प्रदेश तथा राष्ट्रिय समितिहरुमा केन्द्रीय कार्यकारिणी समितिले इन्चार्ज र सहइन्चार्जहरु तोक्नेछ ।

सहइन्चार्जहरु प्रदेशमा चार जनासम्म तथा राष्ट्रिय समितिहरुमा जतिवटा जिल्ला छन् त्यति नै संख्यासम्म तोक्न सकिने निर्देशिकामा उल्लेख छ ।

पालिका कार्यसमिति
पालिकाका समितिको संख्या तय गर्दा पालिका समितिका प्रतिनिधिहरु रहेको कार्यदल गठन गर्नुपर्नेछ ।

पालिका समिति समायोजन कार्यको सहजीकरण पूर्व पार्टीको जिल्ला समितिले गर्ने उल्लेख छ ।
वडा समितिहरुको समायोजनको काम पनि आफ्नो क्षेत्राधिकारभित्र पालिका समितिको जस्तै हुने बताइएको छ ।

भ्रातृ संस्थाको समायोजन
जनवर्गीय संगठन अन्तर्गत महिला, किसान, युवा, विद्यार्थी, मुस्लिम, थारु, पिछडा वर्ग, सकुम्बासी, अपाङ्ग, यौनिक तथा लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिक, उपभोक्ता अधिकार लगायतका संघको समायोजनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिले कार्यदल बनाउने छ ।

यस्तै युनियनहरु तथा मजदुर, बौद्धिक पेसाकर्मी, सांस्कृतिक, खेलकुद, आदिवासी जनजाति, दलित, उद्योग वाणिज्य तथा व्यवसाय, पूर्व सैनिक तथा प्रहरी लगायतका महासंघहरु सोही व्यवस्था गरिएको छ ।

सहज र पार्टीमा उत्साहपूर्ण वातावरण हुने गरी एकीकरण र समायोजन कार्य अगाडि भनिएको छ । कार्यदलले सहमतिमा समायोजन हुन सक्ने तल्ला समितिहरुलाई माथिल्लो समिति समायोजन नभएको कारणले रोक्न नहुने प्रष्ट पारेको छ ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्