नेकपाद्वारा रामवीरलार्इ राजीनामा दिन अनुमति नदिने निर्णय



काठमाडौँ : नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, 'सचिवालय बैठकले संघीय संसद्‌का सांसद रामवीर मानन्धरले राजीनामा दिन दिएको स्वीकृति पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ ।' उनका अनुसार अब तत्काललाई उपनिर्वाचनमा नजाने र वामदेव गौतम चुनाव नलड्ने निष्कर्ष निकालिएको छ ।

बर्दियाबाट पराजित नेकपा नेता वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं ७ खाली गर्ने तयारीपछि सांसद मानन्धरले राजीनामाका लागि पार्टीलाई स्वीकृति पत्र दिएका थिए । तर, गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाएमा पार्टी र सरकारलाई नोक्सान पर्ने भन्दै नेकपाभित्र चर्को विवाद भएपछि उक्त विषय तत्काललाई स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्