विद्युतीय धरापमा परी दाजुभाइको मृत्यु, बुबा घाइते



दाङः घोराही उपमहानगरपालिकामा बँदेल मार्न थापेको विद्युतीय धरापमा परी दाजुभाइको मृत्यु भएको छ ।

बँदेल मार्न मकैबारीमा थापेको विद्युतीय धरापमा परेर आज (सोमबार) बिहान हर्नौकका १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको मृत्यु भएको छ भने धरापमा परेर बुबा घाइते भएका छन् ।

विद्युतीय धरापमा परेर उनीहरूका बुवा ३७ वर्षीय दिलबहादुर रावत घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बँदेलले मकै खाएर सताएपछि त्यसलाई मार्न उनीहरुले मकै बारीमा विद्युतीय धराप थापेका थिए । धरापमा बँदेल परेको पो छ कि भनेर हेर्न बिहानै बुवा–छोरा मकै बारीमा गए, शुरूमा एउटा छोरा गल्तीबस त्यो धराप छुन पुगे, भाइलाई करेन्ट लागेपछि दाजु उनलाई तान्न गए, करेन्ट लागेर दुई दाजु–भाइको घटनास्थलमै मृत्यु भयो ।

बाबुलाई भने आत्तिँदै अगाडि बढ्दा करेन्ट लागेको हो । करेन्टले दुवै छोरा गुमे पनि बुबा दिलबहादुर भने बाँच्न सफल भएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्