कोरोना संक्रमति बढेपछि फेरि लकडाउनको तयारी



काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

उनीहरुमध्ये ५७ जनाको मृत्यु भइसकेको छ भने १४ हजार ९ सय १६ जना निको भएका छन् । कोरोनाको महामारीपछि चैत ११ गतेदेखि बन्द भएका बारा पर्साको औद्योगिक करिडोर फेरि बन्द भएको छ ।

आर्थिक नगरीका रुपमा परिचित वीरगञ्ज बजार फेरि ठप्प भएको छ । १ सय २० दिनको लकडाउन खुकुलो भएपछि बजार आंशिक चल्न थालेको थियो, तर फेरि सिडियो कार्यालयले निशेधाज्ञा घोषणा गरेर बन्द गरेको छ ।

सरकार भने अलमलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री ओली विज्ञहरुसँग छलफलपछि निर्णय लिने बुझिएको छ ।

छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् ।

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्रीले मंगलबार विज्ञहरूसँगको बैठक आयोजना गर्दै हुनुहुन्छ। समय अहिले तय भइसकेको छैन । वीरगञ्ज, काठमाडौं लगायतका ठाउँहरुमा संक्रमण बढिहरेको छ। अब कसरी अघि बढ्ने भनेर छलफल गर्न लाग्नुभएको हो ।’

यसअघिले पहिलो चरणमा कोरोनाको सामना गरेको अवधि २०७६ माघदेखि २०७७ जेठ ३२ सम्म हो । असार १ देखि लकडाउन खुकुलो भएपछि कोरोना प्रतिरोधको दोस्रो चरण सुरु भएको छ ।

नेपालमा कोरोना संक्रमितको पहिलो केस ०७६ माघ ९ गते चीनबाट आएका एक विद्यार्थीबाट सुरुवात भएको थियो ।

माघदेखि चैतसम्म सरकारले उच्चस्तरीय समिति गठन लगायतका काम गर्‍यो ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा दोस्रो केस देखियो । त्यसको भोलिपल्ट चैत ११ देखि सरकारले देशैभरि लकडाउन सुरु गर्‍यो । विभिन्न चरणहरु पार गर्दै ०७७ जेठ ३२ सम्म लगातार लकडाउन जारी रह्यो ।

यसरी पहिलो केस देखिएको दिनदेखि करिब तीन महिनासम्म जारी रहेको कठोर लकडाउनको अवधिलाई नेपालमा कोरोना प्रतिरोधको पहिलो अवधि मान्न सकिन्छ । तर नेपालमा कोरोनाको जोखिम नरहेको र नेपालीहरुको प्रतिरोध क्षमता विश्वकै उत्कृष्ट रहेको प्रचारमा व्यस्त छ ।

दोस्रो चरणको कोरोना कहर बढिरहँदा ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसी लकभग निश्क्रियजस्तै देखिएको छ ।

दोस्रो चरणको कोरोनाविरोधी लडाइँ सिडियोकै भरमा चलिरहेको छ । केन्द्र सरकार लकडाउन अन्त्य भएको घोषणा गरेर ढुक्कसँग बसेको छ । जनस्वास्थ्यविज्ञहरु पनि फेरि लकडाउन गर्ने नगर्ने भन्नेमा विभाजित देखिन्छन् ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले १५ दिन कर्फ्यू लगाउनुपर्ने बताएका छन् ।

लकडाउन खुकुलो पारेपछि सङ्क्रमण फैलिनु स्वाभाविक भए पनि त्यसलाई अतिरञ्जनाको रूपमा लिन नहुने डा. समीरमणि दीक्षितको तर्क छ ।

लकडाउनले झनपछि धकेल्ने भन्दै कोरोनाको सामाना गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित : साउन २०, २०९७७

प्रतिक्रिया दिनुहोस्