मेसु यादवको गैरजिम्मेवारीका कारण आईसीयू प्रमुखले दिए राजीनामा



जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरका प्रमुखको लापरवाही र गैरजिम्मेवारीपनका कारण अस्पतालका आईसीयू प्रमुखले पदबाट राजीनामा दिएका छन् ।

सोमवार राति सामाजिक सञ्जालमा आईसीयू प्रमुख संजय यादवले अस्पताल प्रमुख डा.नागेन्द्र यादवको गैरजिम्मेवार क्रियाकलाप र लापरवाहीका कारण आफूले पदीय जिम्मेवारीबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

गत ४ महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसीयू नखोलेर सिकिस्त कोरोना बिरामीलाई आफ्नो पटक पटकको आग्रहका बावजूद पनि जनरल आईसीयूमा अन्य बिरामीसँग सम्पर्कमा राख्नु र पूर्व तयारी तथा यथेष्ठ सुरक्षाबिना स्वास्थ्यकर्मीलाई दबाब श्रृजना गरि जोखिमपूर्ण अवस्थामा काजमा खटाएकोले चिकित्सक र स्वास्थ्यकर्मीहरु समेत संक्रमित भई अस्पताल प्रमुख मेसु डा.नागेन्द्र यादवको लापरवाहीले भयावह अवस्था हुन पुगेको यादवको आरोप छ ।

मेसु यादवकै लापरवाहीका कारण आईसीयूमा उपचाररत २ बिरामी, २ चिकित्कस, ८ जना स्टार्फ नर्स र एक जना सफाई कर्मचारी कोरोना संक्रमित हुन पुगेको संजयले सामाजिक सञ्जालमा लेखेका छन् ।

होटलको आइसोलेसनमा बसेका स्वास्थ्यकर्मी संक्रमितहरुलाई त्यहीं व्यवस्था मिलाई दिन आग्रह गर्दा समेत विभिन्न डर, त्रास देखाई सोमवार राति होटलबाट सारेर अस्पतालको अव्यवस्थित आइसोलेसनमा राख्दा जोखिम झन बढेको उनले बताए । संक्रमित ति चिकित्सक र स्वास्थ्यकर्मीहरुले जोखिमबाट बच्न गुहार माग्दा पनि आफू विवश भएर सान्त्वना दिन बाहेक केही गर्न नसक्दा दुःखी भएको आईसीयू प्रमुख यादवले बताए ।

होटलको आइसोलेशनबाट हटाइएका ती पिडीत स्वास्थ्यकर्मीहरु रातभरि अस्पतालको प्रांगणमै वर्षातमै भिज्न बाध्य थिए । अस्पताल प्रमुख यादवलाई पटक पटक आग्रह गर्दा पनि उनले कुनै व्यवस्थापन नगरेको उनको गुनासो छ ।

प्रमुख संजयले एक महिना अगाडि समेत शंकास्पद व्यक्तिलाई आइसीयूमा सार्न लाग्दा आफूले त्यसमा नराख्न आग्रह गर्दा अस्पताल प्रशासनले स्पष्टीकरण लिएको र हालसम्म कुनैपनि स्वास्थ्यकर्मी तथा कर्मचारीले जोखिम भत्ता नपाउनुले अस्पताल प्रमुखको अराजकता सहन नसक्ने भन्दै नैतिकताको आधारमा पदीय जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्