प्रसिद्ध नीलबाराही नाच यस वर्ष राति मात्र हुने



काठमाडौं: प्रसिद्ध नीलबाराही नाच दैवी शक्तिमा विश्वास राख्दै नाचिने नाच हो ।

यो नाच आज राति करिब १० बजेदेखि शुरू हुने भएको छ तर नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयको उपस्थिति पनि कम हुने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. ८ र ९ बोडेमा ३ दिन र ४ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन गरिने भएको छ ।

दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच आज राति करिब १० बजेदेखि शुरू हुने भएको छ । कोरोना भाइरस संक्रमण रोक्न वडा नं. ८ र ९ का वडाध्यक्षसहितको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

विगतका वर्षहरूमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए । नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयको उपस्थिति पनि कम हुने बताए ।

वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो । कोरोना सङ्क्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उनले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन उनले आग्रह गरेका छन् ।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि शुरु गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलका चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ । रासस

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्