सडक विस्तारको विरोधमा नाराः ‘गाईजात्रे सरकार मुर्दावाद’



काठमाडौंः काठमाडौं महानगरपालिकाको बालाजु-बाइपास सडक विस्तारको स्थानीयहरुले विरोध गरेका छन् ।

सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा रहेका घरहरु भत्काउदै विस्तारकार्य अघि बढाए पनि स्थानीयहरुले विरोध गरिरहेका छन् ।

यसअघि मंगलबार गाईजात्राको दिन घर भत्काएर सडक विस्तारका लागि मार्ग प्रशस्त गरिए पनि अवरोध भएकै थियो । तर बुधबार पीडित भनिएका केहि स्थानीय र केही अभियन्ताले बुधबार डोजर लगाइएको क्षेत्रमा प्रदर्शन गरेका छन् ।

उनीहरुले जनप्रतिनिधिले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु चौकीमासमेत धर्ना दिए । ‘नेवा भूमि लुट्न बन्द गर’ ‘पृथ्वीनारायणको आक्रमण इन्द्रजात्रामा, जनप्रतिनिधिको आक्रमण गाईजात्रामा’ ‘गाईजात्रे सरकार मुर्दावाद’, लगायतका नारा अंकित प्लेकार्ड बोकेर विरोध प्रदर्शन भएको थियो । उनीहरुले सडक बिस्तारको विरुद्धमा रिले अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रकाशित: साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्