वसन्त ऋतुमा लालीगुराँसको रौनकः तस्वीर खिच्न जंगलतिर लर्काे



म्याग्दीः यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरी ढकमक्क फूलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ। जसले यतिबेला जंगलतिर युवायुवतीहरुको लर्को  लाग्ने गरेका छ ।

उनीहरु गुराँस र हिमाललाई पृष्ठभूमीमा पारेर तस्वीर खिच्च पाउँदा मख्ख हुन्छन् । म्याग्दीका जंगलहरुमा यस वर्ष विगतका वर्षहरुभन्दा राम्रोसँग लालीगुराँस फुलेका छन् ।  वनै राताम्यै हुनेगरि फुलेका लालीगुरासको लालीमाले मनमोहता प्रदान गरेको छ ।

म्याग्दीको पर्यटकीय स्थल टोड्के, बरंजाको झाँक्रीपानी,अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतको प्रमुख आकर्षक मानिने घोडेपानीसहति बेनी नगरपालिका गुराँसे पाखाहरुमा समेत तस्वीर खिच्नका लागि युवायुवतीहरु पुग्ने गर्दछन् ।

माघ दोस्रो सातादेखिको हिमपात र त्यस लगत्तै वनजंगल नै ढाकिने गरी फुलेका लालीगुराँससँग रमाउन यस वर्ष सयौँ मानिसहरु जिल्लाका ग्रामिण क्षेत्रहरुमा पुग्ने गरेकाले गाउँको रौनक नै फेरिएको मंगला गाउँपालिका वडा नं ३ झाँक्रीपानीका कोमल थापाले बताउँछन् ।

समुद्री सतहदेखि ५ सय ७० मिटरको उचाइमा अवस्थित झाँक्रीपानी, ३ सय २० मिटरको उचाइमा रहेको बेनी नगरपालिका वडा नं २ को ज्यामरुकोट, बेनी नगरपालिका ३ भकिम्लीको तोराखेत क्षेत्र, बेनी नगरपालिका १ रत्नेचौरको अर्जम लगाएत जिल्लाको सदरमुकाम बेनीबजारबाट नजिकै रहेका जंगलहरुमा राताम्यै लालीगुराँस फुलेका छन् ।

यी सबै ठाउँहरुबाट धौलागिरि,निलगिरी,माछापुच्छ्रे,गुर्जा,पुथा लगायत ७ वटा हिमालहरु देख्न सकिन्छ । त्यसका साथै झाँक्रीपानी बाहेकका अन्य ठाउँबाट कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजार समेत देख्न सकिने र तस्वीरको पृष्ठभूमीमा हिमाल,गुराँस,नदी र बेनीबजार पनि आउने हुँदा यी ठाउँहरुमा तस्वीर खिच्नका लागि युवायुवतीहरु आउने गरेको बेनी नगरपालिका २ का भीमवहादुर पौडेलले बताए ।

ऐतिहासिक ज्यामरुककोटको खड्ग भवानी कोट संरक्षण तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले लालीगुराँससँगै माछापुच्छ्रे, अन्नपूर्ण,धौलागिरि,निलगिरि लगायतका हिमशृङ्खलाका सुन्दर दृश्य,सदरमुकाम बेनीबजार, नागबेली भएर बगेका म्याग्दी र कालीगण्डकी नदी ज्यामरुककोटको विशेषता भएकको बताए ।

साथै उनले ज्यामरुककोट बागलुङ र पर्वतका ३३ वटा गाउँहरु देखिने गरेका जिकिर गरे । प्राकृतिक सुन्दरतामा रमाउन चाहने जोकोहीका लागि ज्यामरुककोट एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उनको भनाइ छ ।

वनैभरी फुलेका राताम्यै लालीगुराँस, बेनीबजारलाई फन्को मारेजस्तो देखिने कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य,उत्तरतर्फ मुसुक्क मुस्कुराइरहे जस्ता देखिने हिमश्रृङ्खला,चारैतिर ग्रामिण परिवेस, हरिया डाँडा, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले आफूलाई मोहित गराएको पर्वतको जलजलागाउँपालिकाबाट साथीहरुसँग ज्यामरुककोटको फापरखेतमा आयोजित फागुपूर्णिमा मेला हेर्न आउनु भएका १९ वर्षिय देववहादुर जिसीले बताए ।

 उनले भने, ‘एउटै स्थानबाट गुराँस,हिमाल,बजार,नदी गाउँ र जंगलको दृश्य त मैले कहीँ पनि देखेको थिएन ।’ लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवायुवतीहरु मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् ।

विभिन्न कार्यक्रमहरुमा सहभागि हुन गाउँ गएका बेला लाली गुराँस फुलेको ठाउँमा गाडी रोकेर गण्डकी प्रदेशका सांसद बिनोद केसी र बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालसमेत  पनि तस्वीर खिचे । सबैलाई आकर्षित गर्ने लालीगुँरासको संरक्षणमा भने कसैको पनि ध्यान गएको देखिँदैन ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले नगर क्षेत्र भित्रका लालीगुराँस फुल्ने जंगलहरुको संरक्षणमा सामुदायिक वन,स्थानीय जनप्रतिनिधि र पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विशेष चासो राख्न र पहल गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्