बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई उपकुलपति



धरान : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दुई जना उपकुलपति छन्।

प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले फागुन २६ गते अन्तरिम आदेश दिएपछि यतिबेला त्यहाँ दुई उपकुलपति भएका हुन्।

उपकुलपति रौनियारलाई बर्खास्त गरेपछि उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिष्ठानकै शिक्षाध्यक्ष प्राडा.गुरुप्रसाद खनाललाई निमित्त उपकुलपति नियुक्त गरेका थिए। 

सर्वोच्चको अन्तरिम आदेशसहित बुधबार स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका रौनियारले उपकुलपतिको पदभार सम्हालेका छन्। सर्वोच्चको अन्तरिम आदेशपछि आफू उपकुलपतिको काममा फर्किएको उनले बताए। 

निमित्त उपकुलपति खनालले पनि आफूले उपकुलपतिकै हैसियतमा काम गरिरहेको दाबी गरेका छन्। रौनियारले फर्केर उपकुलपतिको जिम्मेवारी सम्हालेको आफूलाई जानकारी नभएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्