पार्टी एकता गर्न राजपाले बनायो समिति



काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता र सहकार्य गर्न राष्ट्रिय जनता पार्टी नेपालले वार्ता कमिटी गठन गरेको छ। राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा गठन गरेको वार्ता टोलीमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा सदस्य छन्।

पार्टी एकीकरणका लागि समाजवादी फोरमले पत्र पठाएपछि गत शुक्रबार राजपाले जवाफ पठाएको थियो।

होटल हायातमा गएसाताको राजपा अध्यक्षमण्डलको बैठकले महतोको नेतृत्वमा गठन गरेको वार्ता समितिलाई मंगलबार पूर्णता दिइएको हो।

मंसिर २३ मा बसेको फोरमको केन्द्रीय समिति बैठकले राजपालगायत दलसँग वार्ता गर्न उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो।

राजपाले प्रदेश सरकार संयोजन समिति र स्थानीय तह संयोजन समिति पनि गठन गरेको छ। राजपाको मंगलबारको बैठकले दुवै समितिलाई पनि पूर्णता दिएको हो। राजपाले महेन्द्र राय यादवको संयोजकत्वमा गठन गरेको प्रदेश सरकार संयोजन समितिमा मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव र डा.विजय सिंहलाई राखेको छ। 

अनिल झाको संयोजकत्वमा स्थानीय तह संयोजन समितिमा मनीष सुमन, सिपी सिंह, गजेन्द्रकुमार मण्डल, सुरेश सिंह, नवकिशोर सिंह, मैथुर चौधरी, मनोज यादव र दीपककुमारलाई राजपाले राखेको छ। 

राजपा बैठकले राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग समेत गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्