नेपालको रेमिट्यान्स सन् २०२० मा २८ प्रतिशतले घट्ने



काठमाडौंः एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको रेमिट्यान्स २८ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ ।

कोरोना माहामारीका कारण नेपालको रेमिट्यान्समा २८.२ प्रतिशतले गिरावट हुने प्रक्षेपण एडीबीले गरेको हो । सन् २०१८ को तुलनामा यो वर्ष २ अर्ब ३२ करोड अमेरिकी डलर गुमाउने एडीबीले जनाएको छ ।

सन् २०१८ मा नेपालमा ८ अर्ब २९ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो । कोरोना महामारीका कारण एसिया प्यासिफिक क्षेत्रका राष्ट्रमा रेमिट्यान्समा उल्लेखीय मात्रामा गिरावट आएको एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको कूल ग्राहस्थ उत्पादन जीडीपीमा रेमिट्यान्सको योगदान २७ प्रतिशत छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने रेमिट्यान्समा गिरावट आउने भए पनि एडीबीले प्रक्षेपण गरे जस्तो स्थिति नआउने बताए ।

उनले भने,’अवस्था सामान्य पक्कै पनि छैन तर एडीबीले प्रक्षेपण गरेज स्तो रेमिट्यान्स एक चौथाइमा खुम्चिने स्थिति भने देखिँदैन ।’ एडीबीले रेमिट्यान्समा यहीस्तरको गिरावट देखिएमा नेपालमा गरिबी बढ्ने उल्लेख गरेको छ ।

‘खान बस्न तथा शिक्षादिक्षामा रेमिट्यान्समा आश्रित परिवारन धेरै छन् । यो संख्यामा रेमिट्यान्समा गिरावट आयो भने नेपालमा गरिबी बढ्नेछ,’ एडीबीको प्रतिवेदनमा भनिएको छ । कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाउने संख्या बढिरहेको छ ।

रोजगारीका लागि खाडी मुलुक पुगेकाहरु फर्किने क्रममा रहेकाले नेपालको रेमिट्यान्समा गिरावट आइरहेको छ । एसिया प्यासिफिक क्षेत्रमा ४५ राष्ट्रका अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा महत्वपूर्ण रहेको हुँदा ती राष्ट्रमा बढी समस्या हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित: साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्