कैलालीमा सानालाई ऐन ठूलालाई चैन, ठक्कर दिने सभामुखका छोरालाई लागेन कानुन




कैलालीः गत शनिबार दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बझाङको बा १ झ ९२५० नम्बरको गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका-६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकलमा ठक्कर लागेपछि चालक सिद्ध जयगढी गम्भीर घाइते भएका थिए ।

बर्दगोरिया गाउँपालिका-४ घर भएका उनी धनगढीतर्फ जाँदै थिए । दुर्घटनामा गम्भीर घाइते उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको छ । उनी अहिले नेपालगन्जमै उपचाररत रहेका छन् । तर उक्त घटनाको वास्तविकता भने अर्कै रहेको र घटनालाई प्रहरीले नै लुकाउन खोजेको बताइएको छ ।

यस्तो छ घटनाक्रमः
दुर्घटना लगत्तै सरकारी गाडी घटनास्थलमै छोडेर सवार सबै फरार भए । ट्राफिक प्रहरीले उक्त गाडी नियन्त्रणमा पनि लिए र घटनास्थल नजिक कसैलाई पनि जान दिइएन, बरु उल्टै गाडीको नम्बर प्लेट हिलोले छोपिदिए । जिल्ला प्रशासन कार्यालय बझाङका सहायक सिडियो राम बहादुर सार्कीका अनुसार उक्त गाडीमा ५ जना सवार थिए । आफूसहित अनुसन्धानका डिएसपी देवेन्द्र थापा, जगत विष्ट र सुरेश जोशीसँग सवार रहेको सार्कीले बताए ।

सहायक सिडियो सार्कीले आफू पायल्सको बिरामी रहेकोले उपचारका लागि लम्की जाँदै गरेको जानकारी दिए । गाडी कसले चलाएको थियो भन्ने प्रश्नमा भने उनले उत्तर दिन आनाकानी गरिरहे ।

लगातार प्रश्न गरेपछि प्रशासनका चालक जनक ऐरले नै चलाएको उनले दाबी गरे । तर चालक ऐर बिदामा थिए । उनले लगातार गाडी चालक ऐरले नै गाडी चलाएको दाबी गरिरहे तर ‘कुरा बाझियो नि सर, घरमा रहेको चालकले कसरी गाडी चलाउँछन् भन्ने प्रश्न गरेपछि ‘हामी कर्मचारीहरुले कतिपय कुरा खोल्न नमिल्ने र बाँकी प्रमाण जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेको’ उनले बताए । यो विषयमा बुझ्न कैलालीका डिएसपी प्रतीक विष्टलाई सम्पर्क गर्दा उनको फोन सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले उठाए । उनले साब बिरामी भएको भन्दै उनको जिम्मेवारी आफूले हेर्ने गरेको बताए ।

तर यो घटनाको विषयमा भने, उनले पनि बोल्नै चाहेनन् । आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले हामीलाई उल्टै प्रश्न गरे, किन चाहिएको हो र स्रोतका अनुसार सोही दिन चालक जनक ऐर प्रशासन कार्यालयबाट बिदा लिएर कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित आफ्नो घर गएका थिए । प्रशासनको उक्त गाडी सुदूरपश्चिम प्रदेशसभा सभामुख अर्जुन थापाका छोरा देवेन्द्र थापाले चलाएका थिए । सहायक सिडियो सहितको टोली चिसापानी घुम्न निस्किएको स्रोतको दाबी छ । सत्ता र शक्तिकै आडमा प्रशासनको गाडी चलाएर मोटरसाइकललाई ठक्कर दिने सभामुखका छोरा देवेन्द्रलाई न त प्रहरीले पक्राउ गरेको छ, न त सत्य नै बाहिर आएको छ । उल्टै उनलाई जोगाउन र घटना लुकाउन प्रहरीले अनेक अस्त्र प्रयोग गरिरह्यो ।

उता इलाका प्रहरी कार्यालय लम्किचुहा प्रहरीले भने उक्त घटनाका विषयमा कुनै कुरा बोल्न चाहेन । हामीलाई बोल्ने अधिकार नभएको भन्दै बोल्न मानेन् । सबै जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएको र डिएसपी साबले नै जानकारी दिने भन्दै फोन राखे । प्रहरीले दुर्घटना भएको हप्ता दिन बितिसक्दा समेत सत्ता र शक्तिको आडमा कसैलाई पक्राउ गरेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीले भने दुवै पक्ष आपसमा समझदारी गरेर गएको जनाउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च जिल्ला प्रशासन कार्यालयले बेहोर्ने सहमति भएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीले सानालाई ऐन, ठूलालाई चैन गरेको भन्दै सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्