सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : जनता समाजवादी पार्टी



काठमाडौँ : जनता समाजवादी पार्टीले मधेश मुद्दा र सांसद रेशम चौधरीको रिहाइ लगायतका माग सम्बोधनका लागि हरेक प्रदेशमा आन्दोलनको आवश्यकता औल्याएको छ ।

पार्टी एकीकरण भएपछि पहिलो पटक बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको निर्णयबारे आइतबार चार पृष्ठ लामो विज्ञप्ति सार्वजनिक गर्दै जसपाले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकोसमेत आरोप लगाएको छ ।

जसपाले संसदलाई नेकपाले पार्टीको छायाँ बनाएको र एकताको प्रतिकको रुपमा रहनुपर्ने राष्ट्रपति जस्तो पदको दुरुपयोग गर्दै आफ्नो शक्ति मजबुत गर्ने हतियारको रुपमा प्रयोग गर्दै आइरहेकोसमेत आरोप लगाएको छ । जसपाले केपी ओली नेतृत्वको सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रम ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

वर्तमान उपलब्धि नै नेपाली काँग्रेस र नेकपाका लागि बढी भइसकेको र सत्ता प्राप्तिको एकमात्र लक्ष्य दुवै पार्टीको रहेको आरोप लगाउँदै जसपाले पहिचानसहितको संघीयता र समाजवादको जस्तो अग्रगामी परिवर्तनको ऐतिहासिक अभिभारा बोकेको हाम्रो पार्टी सामू अहिले संसदीय मोर्चा र जनसंघर्षको मोर्चाबाट अघि बढदै आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्नुपर्ने दायित्व रहेको जनाएको छ ।

यस्तै संसदमा विचाराधीन संविधान संशोधन पारित हुनुपर्ने, नागरिकता विधेयकमा पुरानै व्यवस्थालाई निरन्तरता दिइनुपर्ने,सांसद रेशम चौधरीसहित राजबन्दीको रिहाई, विपदमा परेका नागरिकको राहत तथा उद्धार र किसानहरुको समस्या समाधान गर्नसमेत सरकारसँग जसपाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्