रुसको कदम मूर्खतापूर्ण : वैज्ञानिक समाज



काठमाडौं : कोरोना भाइरसविरुद्ध खोप बनाएको रुसको दावीप्रति वैज्ञानिक समाजले आलोचना गरेका छन् । वैज्ञानिकहरुले रुसको कदम लापरबाहीपूर्ण र मूर्खतापूर्ण रहेको आरोप लगाएका छन् ।

हिजो मात्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध खोप बनाएको र आफ्नी छोरीमा परीक्षण गरेको दावी गरेका थिए । पुटिनको यो दावीसँगै अहिले संसारमा यो विषयले निकै चर्चा पाएको छ ।

रुसले आउँदो अक्टुबरदेखि ठूलो संख्यामा आफ्ना नागरिकलाई यो खोप लगाउने तयारी गरेको छ । यो तयारीलाई वैज्ञानिक समाजले भने अनैतिकको संज्ञा दिएको छ । यसले नागरिकमा नराम्रो प्रभाव पर्ने समाजको भनाइ छ । विश्व स्वास्थ्य संगठनले पनि रुसलाई यो खोप प्रयोगको अनुमति दिएको छैन । तर रुसले विभिन्न देशबाट खोपको माग आएको बताएको छ ।

वेलायतको युनिभर्सिटी कलेजका बायोलोजिस्टका प्राध्यापक फ्रांकोइस बैलुक्सले रुसको कदमलाई मूर्खतापूर्ण भनेका छन् । यो खोपल दुई किसिमको असर पर्नसक्ने भन्दै उनले एक त यसले नागरिकमा नराम्रो असर पर्ने र अर्काे खोपप्रतिको विश्वसनीयता कम हुने आशंका व्यक्त गरे ।

यस्तै साउथैम्पटन युनिभर्सिटीअन्तर्गत ग्लोबल हेल्थका अनुसन्धानकर्ता मिशेल हेडले खोपबारे कुनै जानकारी नगराइएको र खोप कसरी बनेको कसैलाई थाहा नभएको बताउँदै उनले खोप प्रयोग गर्नुभन्दा पहिले यसको विस्तृत अध्ययन आवश्यक रहेको बताए ।

नाटिंघम युनिभर्सिटीका प्राध्यापक तथा महामारी विशेषज्ञ कीथ नीलले केही व्यक्तिमा परीक्षण गरिएकोले खोप सुरक्षित देखिए पनि कोरोनाबाट बचाउछ भन्ने प्रष्ट भइ नसकेको बताउँदै यसको व्यापक परीक्षणको आवश्यकता औल्याए । उनले वैज्ञानिक परीक्षण कागजात सार्वजनिक नभएसम्म विश्वास तत्काल गर्न नसकिने बताए ।

वेलायतकै इम्पेरियल कलेजका इम्युनोलोजीका प्राध्यापक डेनी एल्टमैनले पनि खोपको परीक्षण गरिए पनि यसप्रति थप अध्ययन अनुसन्धानको आवश्यकता औल्याउँदै यदि यो खोप सुरक्षित र प्रभावकारी हुन नसकेमा समस्या थप गहिरिने बताए ।

विश्व स्वास्थ्य संगठनले पनि रुसको खोपलाई तत्काल अनुमति दिन अस्वीकार गरेको छ । संगठनका सहायक निर्देशक जरबास बारबोसाले रुसबाट खोपको पर्याप्त जानकारी प्राप्त नभएको बताए । ब्राजिलमा यो खोप लगाउने तयारी भइरहेको एक प्रश्नको जवाफमा उनले परीक्षण कार्यले पूर्णता नपाएसम्म यसो गर्न नहुने र यसले जोखिम बढाउने बताए । खोप सुरक्षित र प्रभावकारी हुनु जरुरी भएको पनि उनले स्पष्ट गरे ।(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्