चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु



जनकपुरधाम : जनकपुरधामको रामजानकी हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण एकजना सुत्केरी महिलाको ज्यान गएको एक हप्ता नबित्दै फेरी एक निजी अस्पतालमा चिकित्सकको लापरवाहीका कारण एकजना महिलाको मृत्यु भएको छ । जनकपुरधाम–९ ब्रम्ह्पुरीस्थित नवजीवन हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण बिरामी महिलाको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–११ भगवतीपुरकी ३५ वर्षीया रुक्मिणी सदाको शल्यकृया गर्ने क्रममा चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको हो । रक्षाबन्धनको दिनदेखि रुक्मिणीको पेटमा दर्द हुने, वान्ता आउने जस्ता समस्या सुरु भएको थियो । समस्या बढ्दै गएपछि उनलाई आइतबार नवजिवन हस्पिटलमा उपचारका लागि भर्ना गरिएको उनकी बुहारी शिवसति सदाले बताइन् ।

शिवसतिले भनिन्,‘अस्पताल भर्ना गराउँदा उनको पेटमा दर्द हुने समस्या थियो, भर्ना गराएको ४ दिनसम्म चिकित्सकहरुले सामान्य उपचार गरिरहे,पछि शल्यकृया गर्नुपर्छ भनेपछि हामी आत्तिएका थियौं ।’ चिकित्सकहरुले ६ घण्टा समय लगाएर उनको शल्यकृया गरे, तर अन्त्यमा बाँच्ने अवस्था नदेख्दा यहाँ यो बिरामीको उपचार सम्भव नरहेको भन्दै अस्पतालले बाहिर लान भनेको शिवसत्तिले बताइन् । उनले भनिन्,‘चिकित्सकको यो जवाब पछि हामीले भन्यौ कि हामी गरिब छौँ, कहाँ बाहिर लाने, फेरी यहाँ शल्यकृया भईसकेको छ, बाटोमा केही अप्रिय घटना भयो भने हामीले के गर्ने ?’ चिकित्सकहरुले ६० हजार रुपैयाँ काउन्टरमा जम्मा गर्दा रुक्मिणीलाई बचाउन सकिने प्रतिबद्धता समेत गरेको उनले बताईन् । तर केही घण्टा नबित्दै आफ्नो सासुको मृत्यु भएको उनले दुःखेसो पोखिन । चिकित्सकहरुले रुक्मिणीको आँत फसेकोले शल्यकृया गर्नुपरेको जानकारी आफुहरुलाई दिएको शिवसतिले बताईन् ।

शल्यकृयापछि आफ्नो सासुको श्वास फुल्न थालेपछि आफुहरुले अस्पतालमा तत्काल उपस्थित नर्सलाई बोलाएका थियौं तर, नर्सले उल्टै हामीलाई हप्कायो,उनले भनिन्– ‘नर्सले तपाईको मात्रै बिरामी यहाँ छ कि अरु पनि छन् भन्दै हप्काए, पछि सासुले आँखा बन्द गर्न थालेपछि एक जना चिकित्सक आयो, स्लाइन पानीको बोतलमा कुनै सिरिन्ज लगाएपछि उनी अचेत भइन् । त्यसको केही समयपछि चिकित्सकहरुले तपाईको बिरामीको मृत्यु भईसक्यो भनेर जवाफ दिएका थिए ।’ शिवसतिले चिकित्सकहरुले शल्यकृयाअघि बाहिर लान नभनेको तर, शल्यकृयापछि अवस्था गम्भिर हुन थाल्दा बाहिर लान दबाब दिएको बताईन् ।

यस सम्बन्धमा नवजीवन हस्पिटलका ईन्चार्ज अखिलेश साहले बिरामीमा पेट दुख्ने, खाना नपच्ने, वान्ता हुने, पेट फुुल्ने जस्ता समस्या देखेपछि सर्जन चिकित्सक संजय चौधरीको माध्यमबाट उपचार गरिएको बताए । चिकित्सक चौधरीले यस्ता केशमा बिरामी आफै स्वस्थ भएर जाने समेत सम्भावना रहेको भनेपछि केही दिन औषधी चलाएरै हेरेको इन्चार्ज साहले बताए । बिरामीको अवस्थामा सुधार नदेखेपछि उनको आफन्तको सहमतिमै शल्यक्रिया गरिएको उनले दावी गरे । शल्यकृया पछि बिरामीको आँत पल्टिएको उनले बताए ।

अस्पतालकै लापरवाहीका कारण रुक्मिणी सदाको मृत्यु भएको भन्दै आफन्तजनले अस्पतालमा ढुंगामुढा गर्नुका साथै तोडफोड समेत गरेका छन् । उनीहरुले अस्पतालको चरम लापरवाहीले महिलाको ज्यान गएको भन्दै घटनाको छानबिन गरी दोषी चिकित्सकमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्