पोखरामा आजदेखि निषेधाज्ञा जारी



पोखरा : कोरोना संक्रमण फैलन सक्ने भन्दै प्रदेश राजधानी पोखरामा आज (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी हुने भएको छ ।

मंगलबार बिहान बसेको सिडिओ संयोजकत्वको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभर नै भदौ ७ गतेसम्मलाई निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक सिडिओ श्रीनाथ पौडेलले सो कुराको जानकारी दिएका हुन् ।

यस्तै पोखराको एक निजी अस्पतालमा मृत्यु भएकी तनहुँकी एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँबाट उपचारका लागि ल्याइएकी ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो । मंगलबार बिहान मृतक वृद्धासहित १५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पहिल्यै स्वाब संकलन गरिएकी उनको मृत्यु भइसकेपछि रिपोर्ट पोजेटिभ आएको हो । तनहुँको व्यास नगरपालिकाकी उनी उपचारका लागि ३२ साउनमा पोखरा आएकी थिइन् । आमालाई लिएर आएकी उनकी २५ वर्षीया छोरीमा पनि कोरोना पुष्टि भएको छ । ती महिलाको मृत्युपछि गण्डकीमा कोरोना भाइरस संक्रमितको मृत्यु संख्या ६ पुगेको छ । यसअघि स्याङ्जाका २ र कास्की, गोरखा, बागलुङका १-१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्