उपप्रधानमन्त्री ईश्वर पोखरेल अमेरिका प्रस्थान



काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार उनी अमेरिका प्रस्थान गरेका हुन् ।

राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्‍याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्दै शान्ति स्थापना कार्यलाई आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो तर्फबाट पुर्‍याउन सक्ने योगदानबारे नेपाल सरकारको धारणा प्रस्तुत गर्न उनी त्यसतर्फ गएका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले यही चैत १५ गते राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुने सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा वरिष्ठ अमेरिकी रक्षा अधिकारीहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

उपप्रधानमन्त्री पोखरेल यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्