संसदको विवादित लोगो निर्माणकर्तालाई नै फिर्ता



काठमाडौं : संघीय संसदको लोगोमा राखिएको नक्साको चौतर्फि विवाद भएपछि संसद सचिवालयले उक्त लोगो निर्माणकर्तालाई नै फिर्ता गरेको छ ।

संघीय संसदका दुवै सदनका सदस्यहरुका लागि भन्दै ३ सय ५० वटा लोगो निर्माण गरिएको थियो । तर, लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै सांसदहरुदेखि सर्वसाधारणले आपत्ति जनाएपछि निर्माणकर्तालाई नै फेरी निर्माण गरेर दिन भन्दै सचिवालयले गोलो फिर्ता गरेको हो ।

यद्यपी उक्त लोगोमा राखिएको सुन पुनः प्रयोगामा भने नआउने भएको छ । सुन पुनः प्रयोगमा नआउने भएपछि त्यसको खर्च कसले बेहोर्ने भन्नेमा भने निर्माण गर्ने कार्यालय र संसद सचिवालयबीच विवाद शुरु भएको छ ।

ती लोगोप्रति सांसदहरूले नै आपत्ति जनाएपछि निर्माणकर्ता वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता दिइएको हो ।

मंगलबार साँझसम्म १ सय ९० लोगो फिर्ता गरिएको र बाँकी लोगोहरू पनि फिर्ता गर्ने चरणमा रहेको संसद सचिवालयले जनाएको छ । सांसदहरूलाई बुझाइएका लोगोहरू फिर्ता मागेर निर्माणकर्तालाई दिन लागिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, सचिवहरू र अन्य अधिकारीले लोगो निर्माणको जिम्मा पाएको ललितपुरमा कार्यालय रहेको घरेलु तथा साना उद्योग कार्यालयलका अधिकारीसँग छलफल गरेका थिए । सिंहदरबारस्थित संसद सचिवालयमा मंगलबार भएको छलफलमा लोगो फिर्ता गरेर नयाँ बनाउने भन्नेमा सहमति भएपनि लोगोमा प्रयोग भएको सुनको खर्च कसले बेहोर्ने भन्नेमा विवाद देखिएको थियो ।

प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद सचिवालयले जनाएको छ । लोगोमा ८७ ग्राम सुन प्रयोग भएको र त्यसको खर्च ’६ लाख ८२ हजार रुपैयाँ’ संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए ।

यता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका शाखा अधिकृत गणेश राउतले उद्योग विभागका महानिर्देशकसँग आजै छलफल तय भएको र त्यसपछि सुनको खर्च बेहोर्ने कि नबेहोर्ने भन्ने निर्क्यौल हुने बताए ।

प्रकाशित : भदौ ३, २०७७

प्रतिक्रिया दिनुहोस्