रेडक्रस कैलालीद्वारा महामारीका क्षेत्रमा गरेको काम सार्वजनिक



धनगढीः नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले (कोभिड-१९) का क्षेत्रमा गरेका काम सार्वजनिक गरेको छ ।

आज धनगढीमा पत्रकारसँगको अन्तरक्रियामा (कोभिड-१९) को सुरुवाती देखि गर्दै आईरहेको कार्य सार्वजनिक गरेको हो ।

रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले कैलालीमा रहेका विभिन्न क्वारेन्टीन व्यवस्थापनका लागि टेण्ट, बाल्टिन, मग, जग, कम्बल, किटनाशक झुल, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको बताए ।

उनले जिल्लामा अभिमुखीकरण, घरदैलो कार्यक्रम, पर्चा पम्पलेट जस्ता जनचेतनामुक कार्यक्रम गरेको बताए । रेडक्रस सोसाइटीले त्रिनगर भन्सार नाकामा हेल्प डेस्क स्थापान गरि ४० हजार, ६ सय ३२ जनालाई खानेपानी वितरण तथा गन्तव्य स्थलसम्म जानका लागि सवारी साधानको व्यवस्थापन गरेको रेडक्रसले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले संचालन गरेको आइसोलेशन सेन्टर तथा महिला होल्डिङ सेन्टरका लागि बेड, टेलिभिजन र व्यक्तिगत सुरक्षाका सामाग्रीहरु, मनोसामाजिक परामर्शका लागि कर्मचारीको व्यवस्थापन गरेको छ ।

यस्तै धनगढी क्षेत्रमा २१ वटा क्वारेन्टिन तथा सार्वजनिक स्थलमा हात धुने स्थलहरु निर्माण गरेको रेडक्रस शाखा कैलालीले जानकारी दिएको छ । धनगढी कारागारमा रहेका बन्दीहरुलाई २ सय थान सावुन, ६ थान त्रिपाल र १ थान टेण्ट वितरण गरेको जनाएको छ ।

प्रकाशितः ४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्