कोरोनाको नाममा अर्बौं खर्च, तर आइसोलेसनमा रोटीका लागि पिठो पनि छैन



जनकपुरधाम : सरकारले कोरोनाभाइरस नियन्त्रण र उपचारको नाममा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

जसमध्ये संघ सरकारमार्फत ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारहरुमार्फत १ अर्ब ४९ करोड ७० लाख र स्थानीय तहहरुमार्फत सबभन्दा बढि ६ अर्ब २ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणको नाममा प्रदेश २ सरकारले संघ सरकारबाट पाएको २६ करोड ६५ लाख ६९ हजार रुपैयाँबाट १७ करोड २ लाख रुपैयाँ खर्च गरिसकेको छ । तर, यस प्रदेशमा औषधि र स्वास्थ्य सामग्रीको अवस्था, स्वास्थ्य पूर्वाधार, क्वारेन्टाइन एवं आइसोलेसन सेन्टरहरुको अवस्था भने कहालिलाग्दो छ ।

सर्वसाधारण जनतालाई आइसोलेसन सेन्टरहरुमा भोकै बस्नु परिरहेको छ । यसको पछिल्लो उदाहरण हो, धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको आइसोलेसन सेन्टर ।

त्यहाँ अहिले करिव ४० जना कोरोना संक्रमित बिरामीहरुलाई राखिएको छ । संक्रमितमध्ये कोही मधुमेहका विरामी त कोही हर्टका विरामी पनि छन् । यस्ता विरामीहरुलाई समयमै खानपान उपलब्ध नभए रोगले झन बढि च्यापने अवस्था आउन सक्दछ । तर, उनीहरुलाई त्यहाँ राखेर झन बढि रोगी बनाइदैछ । कोरोनाको डर त पछि लाग्छ पहिले त भोकलै नै हामी मर्छौ कि भन्ने डरले सताईरहेको गंगुली आइसोसेसनमा विगत एक हप्तादेखि रहेका धनुषाको मिथिला बिहारी नगरपालिका–५ ललियाका ७५ वर्षीय एक संक्रमित वृद्धले बताए ।

उनले भावुक हुँदै भने,‘मेरो शरीर अगाडीदेखि नै कमजोर थियो, संक्रमित भएर आएदेखि यहाँ झन बढि कमजोर भएको छु । मलाई हर्टको समस्या छ, घरमा हुँदा परिवारका सदस्यहरुले समयमै खाना र औषधि दिन्थे तर, यहाँ खानाको कुनै ठेगान छैन भने औषधिको कुरा त परै जाओस् । म यहाँ मर्छु कि भन्ने डर लागिरहेको छ ।’

त्यस्तै अर्का एक संक्रमितले भने,‘म मधुमेहको विरामी छु । मलाई चिकित्सकले कम्तिमा एक छाक रोटी खान सल्लाह दिएका छन् । तर, यहाँको व्यवस्थापन पक्षका व्यक्ति रोटी बनाउन आँटा नै नरहेको भन्दै पन्छिरहेका छन् । यो कस्तो आइसोलेसन छ जहाँ रोटीका लागि पिठो पनि छैन ? ‘उनको प्रश्न थियो ।’प्रदेश सरकार

ले कोरोना व्यवस्थापनको नाममा १७ करोड रुपैयाँ खर्च गरिसकेको कुरा हामीले बिभिन्न सञ्चारमाध्यम मार्फत थाहा पायौं तर, यहाँ आइसोलेसनमा त रोटी पाउन समेत मुस्किल छ, उनले भने,‘जनताकै पैसा खाएर नेताहरु मोटाए तर जनतालाई रोटी खान समेत कठिनाई छ । यो कस्तो सरकार ?’

क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर सञ्चालनको मापदण्ड
नेपाल सरकारले तयार गरेको ‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६’ अनुसार, क्वारेन्टाइन र आइसोलेसमा सफा र सुरक्षित सयन कक्ष, एक ओछ्यान र अर्को ओछ्यानबीचमा निश्चित दूरी, प्राथमिक उपचार सामग्रीको व्यवस्था हुनुपर्छ ।

निर्देशिका अनुसार त्यसबाहेक ‘कम्तिमा तीनजना सरसफाइ कर्मचारी, डस्टबिन र पर्याप्त मास्कको व्यवस्था, तोकिएको मापदण्ड अनुसार फोहोर व्यवस्थापन, छुट्टाछुट्टै साबुन र स्यानिटाइजर हुनुपर्ने’ उल्लेख छ । त्यसैगरी ‘त्यहाँ बस्नेहरूको कम्तीमा दिनको दुईपटक स्वास्थ्य परीक्षण हुनुपर्ने र त्यहाँ व्यायाम तथा मनोपरामर्श सम्बन्धी क्रियाकलाप नियमित हुनुपर्ने’ उल्लेख छ ।

आइसोलेसनमा बस्नेहरुका लागि बिहान ७ः३० देखि ८ बजेसम्म चिया र खाजा, बिहान ११ः३० देखि १२ बजेसम्म दिवा खाजा, दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म खाजा र बेलुकी ७ः३० देखि ८ बजेसम्म रात्री खाना व्यवस्था गरिने सरकारी मापदण्डमा तोकिएको छ । खानाको व्यवस्था गर्दा स्थानीय उपलब्धतालाई मध्यनजर गरी स्वस्थ्यकर खानाको प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ । तर, प्रदेश सरकारले सञ्चालन गरेको यस आइसोलेसनमा कुनैपनि सुविधा उपलब्ध छैन ।

प्रकाशित : भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्