नेपालमा बेरोजगार दर दोब्बर हुने



काठमाडौं : नेपालमा बेरोजगारी दोब्बर बढ्ने एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । कोरोना महामारी बढेसँगै देशमा रोजगारीका अवसर गुमिरहेका छन् भने अर्कातिर वैदेशिक रोजगारीमा गएका युवाहरु स्वदेश फर्किरहेका छन् ।

यो अवस्थामा अवको चार महिनामा नेपालमा बेरोजगारी दोब्बर बढ्ने अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ र एशियाली विकास बैंक एडीबीले संयुक्तरुपमा गरेको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ ।

कोरोना महामारीको शुरुवाती चरणको आँकडालाई हेर्दा नेपालमा काम गर्न सक्ने उमेरका ९ लाख ६० हजार बेरोजगार छन् । तर, महामारीले काम गुमाउनेको संख्या बढ्दै गएको छ ।

अगामी पुस मध्यसम्म १५ देखि २४ वर्ष उमेर समूहका ६ दशमलव १ प्रतिशत श्रमिकले रोजगारी गुमाउने अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनलाई आधार मान्ने हो भने निर्माण क्षेत्रमा सबैभन्दा धेरै २१ दशमलव ७ प्रतिशतले रोजगारी गुमाउने छन् । कृषि, व्यापार र होटल रेष्टुराँमा पनि रोजगारी थप गुम्नेछ । प्रतिवेदनमा महामारीले रोजगारी गुमाउनेको पहिलो नम्बरमा १५ देखि २४ वर्षका युवालाई राखिएको छ ।

राष्ट्र बैंकले लकडाउन अवधिमा गरेको अध्ययन अनुसार २३ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् । बेरोजगार युवालाई काम दिन बजेट छुट्याइए पनि सरकारसँग ठोस योजना छैन । श्रम, कृषि, भूमि, युवा, ऊर्जा लगायत विभिन्न मन्त्रालयअन्तर्गत रोजगारी र उद्यमशीलता प्रबर्द्धनका लागि करिब ५० अर्ब रूपैयाँ बजेट छ । तर, कार्यक्रम कसरी अगाडि बढाउने भन्नेमा विभागीय मन्त्रालय आफैं अन्योलमा छन् ।

महामारीले देशभित्र रोजगारी एकपछि अर्को गरी कटौती भइरहेका बेला वैदेशिक रोजगारीमा रहेका युवा पनि धमाधम स्वदेश फर्किरहेका छन् । भारतबाट स्वदेश फर्किएकाहरु भने जीविकोपार्जनको सम्भावना नदेखेपछि जोखिमकै बीच फेरि उतै जान थालिसकेका छन् । यसले देश विकासका लागि पुँजी बन्न सक्ने युवाशक्तिको प्रयोगमा सरकारको योजना शून्यता प्रस्ट पार्छ ।

प्रकाशित : भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्