पेट्रोलियम र ग्याँस पाइपलाइनका लागि भारतसँग छलफल



काठमाडौं : नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ । नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्न बैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको विषयमा दुई पक्षबीच छलफल भएको मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए । यस्तै, सिलगुढी(झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा रुपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइन विस्तारको विस्तृत सम्भाव्यता अध्ययन र चुनौतीबारे बैठक केन्द्रित थियो । ‘निगमले अघि बढाउन लागेको पेट्रोलियम परियोजना र त्यसमा भारतीय आर्थिक, प्रविधिक सहयोग तथा आगामी दिनमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भयो,’ उनले भने ।

यसअघिनै लागत अध्ययन भएका आयोजना समयमै अघि नबढाउँदा लागत थपिएको, अध्ययनको चरणमा रहेका आयोजनाहरुमा देखिएका आयोजनाका चुनौती र त्यसलाई हल गर्ने विषयमा बैठक केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्