उपत्यकामा खाद्यान्न पसल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने



काठमाडौँ : उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् । 

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार सूचना जारी गर्दै अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सूचना जारी गर्दै बिहान सवा ९ बजेसम्म मात्रै खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तुको सूचीमा परेका सामग्रीको खरिद बिक्री गर्न पाइने जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनामा ‘अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने’ लेखिएको छ । त्यस्तै, ‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ : १५ बजेसम्म खोल्न सकिने,’ सूचना जारी गरिएको छ ।

त्यसरी अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सचेतता अपनाउन पनि सूचनामा भनिएको छ । सरकारले जारी गरेको मापदण्ड पालना गरेर अत्यावश्यक सेवा प्रदान गर्न आग्रह गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचाकार लागि उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निशेधाज्ञा जारी गरिएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्