मोदीले छैटौं पटक पनि लालकिल्लामा झण्डा फहराउलान् ?



सन् २०१४ को संसदीय चुनावअघिको कुरा हो ।

एउटा चुनावी सभामा मुलायमसिंह यादवले नरेन्द्र मोदीमाथि कटाक्ष गर्दै भने, ‘उत्तर प्रदेशलाई गुजरातमा बदल्न सक्ने ह्याउ मोदीसँग छैन।’

त्यसको भोलिपल्टै एउटा अर्को चुनावी सभामा नरेन्द्र मोदीले त्यसको जवाफ पनि मुलायमकै ‘टोन’ मा दिए, ‘नेताजी भन्दै हुनुहुन्छ कि उत्तर प्रदेशलाई दोस्रो गुजरात बनाउने ह्याउ मोदीसँग छैन। के तपाईंहरूलाई थाहा छ कि युपीलाई अर्को गुजरात बनाउन चाहिने सबैभन्दा महत्वपूर्ण कुरा के हो ? त्यसका लागि ५६ इन्चको छाति चाहिन्छ।’

यो एउटै भनाइले सन् २०१४ को आमचुनावमा मोदीलाई ‘माचो म्यान’ का रूपमा राजनीतिमा स्थापित गर्‍यो। हिन्दु पौरुषबाट प्रभावित हुने मतदाताहरूलाई उनले यही भनाइबाट आफूतिर आकर्षित गरे।

यो अर्कै कुरा हो कि उनका जीवनीलेखक निलंजन मुखोपाध्यायले अहमदाबादमा मोदीका दर्जी बिपिन चौहानसँग (उनको जेड ब्ल्यू नामको पसल छ) उनको छातिको नाप सोध्दा केही बोलेनन् र यति मात्र भने कि ५६ इन्च त पक्कै होइन।

त्यसपछि नरेन्द्र मोदीको अचकन (शेरवानी) सिलाउने जिम्मा भीमराव अम्बेडकर विश्वविद्यालयका अधिकारीहरूको जिम्मामा आयो, उनीहरूका दर्जीलाई मोदीको छाति ५० इन्च भनेर बताइयो।

बाल्यकालदेखि नै बहस गर्ने बानी

विद्यार्थीकालमा पढाइमा मोदी औसत थिए।

निलंजन मुखोपाध्यायले बिएन हाई स्कुलमा मोदीे विद्यार्थी हुँदा ताकाबारे शिक्षक पह्लाद भाई पटेलसँग कुराकानी गरेर लेखेको पुस्तक ‘नरेन्द्र मोदी– द म्यान, द टाइम्स’ मा लेखेका छन्, ‘नरेन्द्र त्यसबेला धेरै बहस गर्थे। मैले एकपल्ट उनलाई आफ्नो होमवर्क मनिटरलाई देखाउ भनें। तर मोदीले होमवर्क शिक्षकबाहेक कसैलाई पनि नदेखाउने भन्दै मनिटरलाई देखाउन मानेनन्।’

मोदीका कट्टर विरोधी पनि मोदीमा भरपूर आत्मविश्वास रहेको स्विकार्छन्।

जब मोदीले गोही भरिएको तलाउ पार गरे

मोदीका अर्का जीवनीलेखक एन्डी मरिनोले ‘नरेन्द्र मोदी अ पोलिटिकल बायोग्राफी’ मा लेखेका छन्– मोदी केटाकेटी हुँदाताका शर्मिष्ठा तलाउनजिक एउटा मन्दिर थियो। चाडपर्वका विशेष अवसरमा मन्दिरको छानामा राखिने झण्डा फेरिन्थ्यो। एकपल्ट मुसलधारे पानी परेपछि झण्डा फेर्नैपर्ने भयो। 

मोदीले पौडिएर तलाउ पार गर्ने र मन्दिरको झण्डा फेरेर आउने निश्चय गरे। त्यसबेला तलाउमा धेरै गोही थिए। तलाउको किनारमा उभिएर गाउँलेले गोही तर्साउन ढोल बजाइरहे र मोदी एक्लै पौडी खेल्दे तलाउ पारि गएर मन्दिरको झण्डा फेरेर फर्के। उनी फर्किएपछि सबैले उनलाई काँधमा बोके।’

चिया पसल

नरेन्द्र मोदी सुरुदेखि नै घरेलु काममा सघाउँथे। स्कुल छुट्टी हुनासाथ दौडेर वडनगर स्टेसनमा रहेको बुवाको चिया पसल पुगिहाल्थे। र यो कुरा मोदीले सधैं गर्वसाथ सबैसँग भन्ने गरेका छन्।

एकपल्ट आसाममा चिया बगानका मजदुरलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘तपाईंहरूको आसामको चिया मानिसहरूलाई खुवाएर नै म यहाँसम्म पुगेको हुँ।’

करेस्पोन्डेन्सबाट राजनीतिशास्त्रमा स्नातकोत्तर

प्राथमिक स्कुलपछि जामनगरस्थित सैनिक स्कुलमा भर्ना हुने नरेन्द्र मोदीको आकांक्षा थियो। तर त्यहाँ भर्ना गर्न सक्ने परिवारको आर्थिक स्थिति थिएन। 

त्यसमाथि उनका बुवा छोरो पढ्नकै लागि बडनगरबाट अन्यत्र पठाउन चाहँदैनथे। उनले स्थानीय एउटा स्नातकोत्तर कलेजमा एडमिसन पनि गरे तर नियमित उपस्थित हुन नसकेपछि कलेजको पढाइ छाड्नु पर्‍यो।

पछि उनले करेस्पोन्डेन्सबाट सुरुमा दिल्ली विश्वविद्यालयबाट बिए र त्यसपछि गुजरात विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरे।

सूचना अधिकारअन्तर्गत केही व्यक्तिले मोदीको स्नातकोत्तरबारे विवरण बुझ्न खोज्दा गुजरात विश्वविद्यालयले सन् १९८३ मा मोदीले पहिलो श्रेणीमा एमए उत्तीर्ण गरेको जानकारी दियो । तर पछि गुजरात विश्वविद्यालयकै एक प्रोफेसर जयन्तीभाई पटेलले मोदीको एमए प्रमाणपत्रमा उल्लेख गरिएका विषय विश्वविद्यालयले राजनीतिशास्त्रको एमए पाठ्यक्रममा कहिल्यै राख्दै नराखेको भनेर विवाद सिर्जना गरिदिए।

गुजरात विश्वविद्यालयले पटेलले लगाएका आरोप खण्डन गर्‍यो।

जसोदाबेनसँग बिहे

मोदी १३ वर्षको किशोर हुँदा नै परिवारले ११ वर्षकी जसोदाबेनसँग उनको बिहे गरिदियो। केही दिन सँगै बसेपछि मोदी घर नै छाडेर हिँडे।

मोदीले बिहे गरेको र उनकी पत्नी पनि छन् भन्ने कुरा भारतीयले त्यसबेला थाहा पाए जब उनले सन् २०१४ को लोकसभा चुनावमा आफ्नो मनोनयनपत्रमा जसोदाबेनबारे उल्लेख गरे। हुन त गुजरातमा भने यसअघि पनि राजनीतिक वृत्तमा यसबारे भित्रभित्रै चर्चा हुने गरेको थियो।

रमाइलो त के भयो भने मोदी प्रधानमन्त्री भएपछि जसोदाबेलाई प्रोटोकलअनुसार सरकारी सुरक्षा दिँदा उनले आफूलाई विचित्र परिस्थितिमा परेको अनुभव गरिन्। 

फर्स्ट पोस्टसँगको अन्तर्वार्तामा उनले सार्वजनिक यातायातमा यात्रा गर्दा आफू चढेको बस पछाडि सुरक्षाकर्मी पनि हिँड्ने बताइन्। 

वकिल थिए मोदीका राजनीतिक गुरु

मोदीलाई राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मा आबद्ध गराउने श्रेय लक्ष्मणराव इनामदारलाई जान्छ, जसलाई ‘वकिल साहब’ का नामले चिनिन्थ्यो।

त्यसबेला वकिल साहब आरएसएसका गुजरात प्रान्त प्रचारक थिए।

एमबी कामथ र कालिन्दी रन्डेरीले आफ्नो पुस्तक ‘नरेन्द्र मोदी : द आर्किटेक्ट अफ अ मोडर्न स्टेट’ मा लेख्छन्– एकपल्ट मोदी तिहार (दिपावली) मा घर नआउँदा उनका आमाबुवा औधी दुःखी भएका थिए। त्यसै दिन वकिल साहबले उनलाई आरएसएसको सदस्य बनाएका थिए।’

सन् १९८४ मा वकिल साहबको निधन भयो तर मोदीले उनलाई कहिल्यै बिर्सन सकेनन्। उनले पछि आरएसएसकै अर्का कार्यकर्ता राजाभाई नेनेसँग मिलेर वकिल साहबमाथि ‘सेतुबन्ध’ पुस्तक लेखे।

कुनै पनि व्यक्तिप्रति मोदी सर्वाधिक आकर्षित हुने गुण हो– त्यो व्यक्तिको अनुशासन।

वरिष्ठ पत्रकार जी सम्पथ भन्छन्, ‘मोदीका जेठा दाजु सोमाभाइले भनेका थिए कि मोदी बालखैदेखि आरएसएसमा आबद्ध हुन चाहन्थे। किनभने आरएसएस शाखामा एक जनाले मात्र आदेश दिन्छ र बाँकी सबैले त्यसको पालन गर्छन्।’

कुनै समय मोदीका अत्यन्त घनिष्ठ तर पछि विरोधी भएका शंकरसिंह बघेला भन्छन्, ‘सुरुदेखि नै फरक ढंगबाट काम गर्ने मोदीको बानी छ। हामीले पूरा बाहुलावाला कमिज लगाउँदा उनी छोटो बाहुलावाला कमिज लगाउँथे। हामी खाकी हाफपाइन्ट लगाउँदा मोदीलाई सेतो पहिरन मन पथ्र्यो।’

मोबाइलमा बाजपेयीको त्यो कुराकानी

सन् २००१ अक्टोबर १ मा मोदी हवाई दुर्घटनामा मृत्यु भएका एक पत्रकार मित्रको अन्त्येष्टिमा सहभागी भइरहँदा उनको मोबाइलको घन्टी बज्यो। 

फोन तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले गरेका थिए। उन (बाजपेयी)ले सोधे, ‘तपाईं कहाँ हुनुहुन्छ ?’ त्यसपछि मोदीले बाजपेयीसँग त्यही दिन बेलुकी भेट्ने निश्चित भयो।

बेलुकी मोदी जब प्रधानमन्त्री निवास ७ रेसकोर्स रोड पुगे, बाजपेयीले ठट्टा गरे, ‘तपाईं निकै तन्दुरुस्त देखिनुहुन्छ, दिल्लीमा तपाईंको बसाइ पनि लामै भयो। पन्जाबी भोजन खाँदाखाँदा तपाईं मोटाउँदै जानु भएको छ। तपाईं गुजरात जानुस् र त्यहाँ काम गर्नुस्।’

एन्डी मरिनो लेख्छन्– मोदीलाई लाग्यो कि शायद उनलाई पार्टी सचिवका रूपमा गुजरातमा काम गर्नु पर्नेछ। उनले निश्छलतापूर्वक सोधे कि यसको अर्थ मैले अहिले हेरिरहेका राज्य हेर्न पाउँदिन ? केसुभाइ पटेलपछि गुजरातको मुख्यमन्त्री उनी नै हुने छन् भनेर जब बाजपेयीले उनलाई जानकारी दिए, मोदीले मुख्यमन्त्री बन्न तत्कालै अस्वीकार गरे।

उनले गुजरातमा पार्टी व्यवस्थित गर्न आफू महिनाको १० दिन दिनसक्ने तर मुख्यमन्त्री बन्दिनँ भने। बाजपेयी उनलाई मनाउने प्रयास गरिरहे तर उनले मान्दै मानेनन्। उनलाई मुख्यमन्त्री बन्न राजी गराउन पछि आडवाणीले उनलाई फोनमा भन्न करै लाग्यो, ‘मुख्यमन्त्रीमा सबैले तपाईंको नाम सर्वसम्मत गरेका छन्। खुरुक्क जानुस् र मुख्यमन्त्रीको शपथ लिनुस्।’ बाजपेयीले फोन गरेको छैटौं दिन अर्थात सन् २००१ अक्टोबर ७ मा नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्रीको शपथ लिए।

गुजरात दंगाले गरे बदनाम

मोदी मुख्यमन्त्री भएको चार महिनापछि नै उनको नेतृत्वको पहिलो परीक्षा त्यसबेला भयो, जब अयोध्याबाट रेलमा फर्किरहेका कारसेवकको डिब्बामा गोधरामा आग लगाइयो र ५८ जनाको मृत्यु भयो।

त्यसको अर्को दिन विश्व हिन्दु परिषद्ले गुजरात राज्यभरि नै बन्द आह्वान गर्‍यो। हिन्दु–मुस्लिम दंगा भए र ती दंगामा २ हजारभन्दा बढी मारिए।

मोदीमाथि स्थिति नियन्त्रणमा लिन तत्काल प्रभावकारी कदम नचालेको आरोप लाग्यो।

मोदीले पत्रकार सम्मेलनमा एउटा अत्यन्त विवादास्पद बयान दिए, ‘हरेक क्रियाको बराबर र त्यसविपरीत प्रतिक्रिया हुन्छ।’

एक दिनपछि उनले एउटा टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्तामा दोहोर्‍याए, ‘क्रिया र प्रतिक्रियाको चेन (शृंखला) चलिरहेको छ। कुनै क्रिया नहोस् र प्रतिक्रिया पनि नहोस् भन्ने हामी चाहन्छौं।’

बाजपेयीको सुझाव

मोदीले शिविरमा रहेका दंगापीडित मुसलमानहरूमाथि केही दिनपछि एउटा अर्को असंवेदनशील टिप्पणी गरे। उनले भने, ‘हामी पाँच, हाम्रा पच्चिस।’

पछि उनले अर्को एउटा अन्तर्वार्तामा आफूले सहायता शिविरमा बसेका मानिसहरूबारे नभएर देशको जनसंख्यासम्बन्धी समस्या उल्लेख गरेको भन्दै माथिको भनाइबारे स्पष्टिकरण दिएका थिए।

वर्षौंपछि एकजना पत्रकारले अटलबिहारी बाजपेयीका मुख्यसचिव ब्रजेश मिश्रासँग किन बाजपेयीले गुजरात दंगामा मोदीलाई बर्खास्त नगरेको भनेर सोधेका थिए। मिश्राको जवाफ थियो– बाजपेयी मोदीले राजीनामा दिऊन् भन्ने चाहन्थे तर उनी (बाजपेयी) सरकार प्रमुख थिए न कि पार्टी प्रमुख। पार्टी मोदीलाई बर्खास्त गर्न .चाहँदैनथ्यो। बाजपेयीले पार्टीसामु झुक्नु पर्‍यो। बिजेपी न त पहिले कांग्रेसजस्तो थियो न त आज छ।

टोपी लगाउन अस्वीकार

एकपल्ट जब मौलाना सैयद इमामले मोदीलाई एउटा जालीदार टोपी लगाउन दिए, त्यसैबेला उनले टोपी लगाउँदैमा कोही पनि सेक्युलर (धर्मनिरपेक्ष) बन्दैन भन्दै लगाउन अस्वीकार गरे। यो त अर्कै कुरा हो कि मोदीले सन् २०१४ को चुनाव प्रचारप्रसार गर्दा सिखको पगडीसहित कैयौं समुदायका टोपी लगाए।

‘मियाँ मुसर्रफ’ र ‘सहजादे’

गुजरातको मुख्यमन्त्री भएको समय मोदीले चुनावी भाषणमा जुन विरोधीमाथि प्रहार गर्नुपर्ने हुन्थ्यो उनीहरूको नामको अगाडि उनी प्रायःजसो ‘मियाँ मुुसर्रफ’ र ‘मियाँ अहमद पटेल’ जस्ता मुस्लिम विशेषण लगाउँथे।

सन् २०१४ को चुनावताका राहुल गान्धीको उपहास गर्दा उनले उर्दू शब्द ‘सहजादे’ प्रयोग गरे, जबकि त्यसका लागि उनले सजिलैसँग ‘राजकुमार’ शब्द प्रयोग गर्न सक्थे।

मोदी नेतृत्वको भाजपा स्वतन्त्र भारतको इतिहासमै पहिलो पार्टी भयो, जसमा एक जना पनि मुस्लिम सांसद थिएनन् र उसले केन्द्रमा सरकार गठन गर्‍यो।

पछि भने मोदीले मन्त्रिमण्डलमा ३ जना मुस्लिमलाई मन्त्री बनाए तर तीमध्ये कोही पनि लोकसभा सदस्य थिएनन्।

गुजरात मोडल

गुजरात दंगाबाट बिग्रिएको आफ्नो छवि सुधार्ने प्रयासस्वरूप उनले आफ्नो पालामा गुजरातमा भएको आर्थिक विकासको व्यापक प्रचारप्रसार गरे।

त्यसलाई आर्थिक विकासको ‘गुजरात मोडल’ नामकरण गरियो, जसमा निजी क्षेत्रलाई प्रोत्साहन, सार्वजनिक संस्थानको उचित व्यवस्थापन र १० प्रतिशतको दरले आर्थिक विकास भयो।

सन् २००८ मा जब पश्चिम बंगालको सिंगुरमा टाटा मोटर्सको कारखाना स्थापनाविरुद्ध आन्दोलन भयो, मोदी तुरुन्त अघि सरे र टाटा मोटर्सलाई गुजरातमा कारखाना स्थापना गर्न निम्त्याएनन् मात्र, उनले उसलाई आवश्यक जग्गा, कर छुटलगायत अन्य सुविधासमेत दिए।

यसबाट रतन टाटा यति बिघ्न प्रसन्न भए कि उनले मोदीको प्रशंसाको पुल नै बनाए। तर गुजरात मोडलको कैयौं तप्कामा आलोचना पनि भयो।

विख्यात पत्रकार रुतम वोराले दैनिक अखबार हिन्दूमा प्रकाशित लेखमा लेखे– भाइब्रेन्ट गुजरातका आठ संस्करणमा ८४ लाख करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भए, तर तीमध्ये अधिकांश कार्यान्वयन गरिएनन्।

प्रति व्यक्ति आयका हिसाबले गुजरात भारतमा पाँचौं राज्य भए पनि नरेन्द्र मोदी मुख्यमन्त्री हुनुअघि पनि भारतका केही विकसित राज्यमा नै गुजरातको  गणना हुन्थ्यो।

आफैंले बनाए मोदी ब्रान्ड

यहाँनेर प्रश्न उठ्छ कि जुन मोदीविरुद्ध भारत मात्र नभएर विश्वभरि नै व्यापक नकारात्मक प्रचार भयो, अमेरिकाले जसलाई भिसासमेत दिएन र भारतीय संसद्का कुनै पनि बहस मोदी र गुजरात दंगाको उल्लेखबिना पूरा भएन, तैपनि मोदीले किन यति व्यापक जनसमर्थन पाए ?

मोदीको अर्का जीवनीलेखक र पुस्तक ‘सेन्टरस्टेज–इन्साइड मोदी मोडल अफ गभर्नेन्स’ लेखक उदय माहूरकर भन्छन्– मोदी ब्रान्ड बनाउन स्वयं नरेन्द्र दामोदर मोदीले अत्यन्त मेहनत गरेका छन्। कुरैकुरामा दुई औंलाले ‘भि’ बनाउनु, आत्मविश्वास वा भनौं भने गर्वोन्मत्त हिँडाइ, उनको ट्रेडमार्क हाफ बाहुलावाला कुर्ता र साँघुरा चुडिदार पाइजामा– उनका उठबसका सबै चालढाल योजनाबद्ध तवरबाट निर्माण गरिएको छ।

मोदीको विश्वसामु प्रस्तुत गरिने छवि त्यस्तो अत्याधुनिक व्यक्तिको निर्माण गरिएको छ, जसले काँधमा डिएसएलआर क्यामेरा भिरेको छ, ल्यापटप प्रयोग गर्छ र उसका हातमा आर्थिक अखबार छ। अनि कुनै बेला ट्र्याक लगाउँछ, कुनै बेला काउब्वाई ह्याट लगाउँछ भने कुनै बेला बाराक ओबामाको जीवनी पढ्छ।

मोदीको जीवनशैली

मोदी खुम्चिएको खद्दरको कुर्ता–पाइजामा लगाउने त्यस्ता ‘टिपिकल’ ‘समाजवादी’ राजनेता जस्ता छैनन्। न त उनी खाकी हाफप्यान्ट लगाएका र हातमा लठ्ठी बोकेका आरएसएर प्रचारक जस्ता छन्।

उनी इटालीको लक्जरी ब्रान्ड ‘बल्गारी’को महँगो फ्रेम नभएको चश्मा लगाउँछन्। प्रायः उनको खल्तीमा ब्रान्डेड ‘मो–ब्लाँ’ कलम हुन्छ र हातमा छालाको स्ट्र्यापयुक्त लक्जरी घडी ‘मोवाडो’ बाँध्छन्। 

स्वर नबिग्रियोस् भने उनी कहिल्यै चिसो पानी पिउँदैनन्। उनी खल्तीमा हरहमेशा एउटा काइँयो राख्छन्। उनको खजमजिएको वा ठडिएका कपाल देखिने एउटै पनि तस्बिर अहिलेसम्म कसैले लिन सकेको छैन।

उनी दैनिक एकाबिहानै ४ बजे नै उठ्छन्। योग गर्छन र आई–प्याडमा समाचार पढ्छन्। उनले २० वर्षयता एक दिन पनि छुट्टी लिएका छैनन्।

प्रसिद्ध पत्रकार विनोद के जोसले ‘कारवाँ’ पत्रिकामा ‘द एम्परर अनक्राउन्ड ः द राइज अफ नरेन्द्र मोदी’ लेखमा लेख्छन्– मोदी नाटकीयतामा पारंगत छन्। उनी मुखर छन, दृढ छन् र अत्यन्तै आत्मविश्वासी छन्। उनी त्यस्ता नेता हुन्, जो आफ्ना अनुयायीहरूलाई उनी हुन्जेल सबैथोक काबुमा रहने भरोसा दिलाउन सक्छन्।

उनी कुनै लिखित भाषणको सहायताबिनै मानिसहरूसँग आँखा जुधाएर भाषण गर्छन्। उनको भाषण सुरु हुनासाथ दर्शकदीर्घा शान्त हुन्छ। मानिसहरू मोबाइल चलाउन बन्द गर्छन् र कतिपय त ट्वाँ परेर हेरिरहन्छन्।

नातागोता छैनन् भ्रष्टाचार पनि हुँदैन

प्रसिद्ध समाजशास्त्री प्रोफेसर आशीष नन्दीले नरेन्द्र मोदीको व्यक्तित्व बताउन ‘प्युरिटानिकल रिजिडिटी’ शब्दावली उपयोग गरेका छन्।

यो शब्दावलीको व्याख्या गर्दै नन्दी लेख्छन्, ‘उनी सिनेमा हेर्दैनन्। न त रक्सी पिउँछन् न त सिगरेट नै। उनी मसलादार खानेकुराबाट पनि परहेज गर्छन्। उस्तै परे सामान्य खिचडी खान्छन्, त्यो पनि एक्लै। विशेष अवसरमा व्रत बस्छन्, खासगरी नवरात्रिका बेला त उनी दिउँसो कागतीपानी वा एक कप चिया मात्र खान्छन्।’

नन्दी लेख्छन्, ‘मोदी एक्लै बस्छन् र आमा तथा चार दाजुभाइ दिदीबहिनीसँग आक्कलझुक्कल सम्पर्क गर्छन्। हुन त कहिलेकाहीं उनलाई आमासँग आशीर्वादा लिँदै गरेको र प्रधानमन्त्री निवासमा आमालाई ह्विलचेयरमा घुमाएको पनि देखिन्छ। उनी आफ्नो जीवनको यो पक्षलाई आफ्नो असल चरित्रका रूपमा प्रदर्शन गर्छन्।’

एकपल्ट हिमाचल प्रदेशको हमिरपुरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मेरो कुनै पारिवारिक सम्बन्ध छैन। म एक्लै छु। मैले कस्का लागि बेइमानी गर्नु ? मेरो मस्तिष्क र शरीर दुवै पूर्ण रूपमा राष्ट्रका लागि समर्पित छ।’

हसिना वाजेदको प्रशंसा गर्दा मजाको पात्र

सामान्यतया मोदी सार्वजनिक रूपमा सधैं महिलाको तारिफ गरिरहेका देखिन्छन्। तर उनले एकपल्ट बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदको तारिफ गर्दै भने कि महिला भएर पनि उनले साहसपूर्वक आतंकवादको मुकाबिला गरिन्।

सामाजिक सञ्जालमा ह्यासट्याग ‘डिस्पाइट बिइङ वुमन’ ट्रेन्ड भयो तर मोदीले त्यसको कुनै वास्ता गरेनन्।

वासिङटन पोस्टले भने एउटा शीर्षक भने बनायो, ‘इन्डियाज मोदी डेलिभर्ड अ वस्र्ट कम्प्लिमेन्ट’।

रोजगारी बढाउन सकेनन्

नरेन्द्र मोदीले सन् २०१४ को चुनाव दुई वटा मुद्दाका आधारमा जितेका थिए।

प्रतिद्वन्द्वी पार्टी कांग्रेसले विश्वसनीयता गुमाइसकेको थियो र उनले भारतीय युवासँग एउटा ठूलो बाचा गरेका थिए, ‘एक वर्षमा १ करोड नोकरी दिने’ वा अर्को शब्दमा महिनैपिच्छे ८ लाख ४० हजार नोकरी सिर्जना गर्ने।

मोदीका सबैभन्दा ठूला प्रशंसकले पनि उनी आफूले गरेको बाचाको छेउछाउ पुग्न नसकेको स्वीकार गर्नु पर्छ।

१ सय ३० करोड जनसंख्या भएको देशमा जहाँको शैक्षिक स्तर निरन्तर बढिरहेको छ, हरेक महिना कम्तीमा पनि रोजगारीका ५ लाख नयाँ अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ। यो लक्ष्य नभेट्टाउनु मोदी सरकारको सबैभन्दा ठूलो असफलता मान्न सकिन्छ।

अहिलेको त्रैमासिकमा भारतको अर्थव्यवस्थाको वृद्धिदर ६ दशमलव ६ प्रतिशत छ, जुन कतिपय विकसित देशको वृद्धिदरभन्दा बढी नै हो। तर पनि यो दर भनेको पछिल्ला ५ वर्षयता सबैभन्दा थोरै हो।

बालाकोट बन्यो संजीवनी

यति मात्र होइन भारतका किसानसमेत मोदी सरकारसँग खुसी छैनन्।

हजारौं किसानले विरोध प्रदर्शन गर्न राजधानी दिल्लीतर्फ ‘मार्च’ गरेको धेरै दिन बितेको छैन।

पछिल्लो समय विधानसभा चुनावमा मोदीले व्यापक प्रचार गरे पनि भाजपाले तीन राज्यमा सत्ता गुमाउनु परेको थियो। त्यसैबेला पहिलोपल्ट मोदीले आगामी लोकसभा चुनावमा भाजपाको बेडा पार लगाउनेमा आशंका गरिएको थियो।

तर कास्मिरमा भएको एउटा आतंकवादी आक्रमण र पाकिस्तानसँग एक साता चर्किएको तनावले मोदीको खस्कँदो लोकप्रियतालाई टेको लगाइदियो।

चुनावी युद्धमा मोदीको फिर्ती

भारतीय मतदातालाई भारतीय वायुसेनाको आक्रमणले पाकिस्तानस्थित आतंकवादीका शिविरमा प्रहारको लक्ष्य सम्भवतः चुकेको वा एउटा भारतीय लडाकु विमान पाकिस्तानले खसालोस् कुनै मतलव छैन।

उनीहरूलाई त आफ्नो देशलाई निसाना बनाइएको थियो र मोदीले तुरुन्तै त्यसको जवाफ फर्काए भन्ने मात्र महत्वपूर्ण छ।

जब जब मोदीले यसो भने, ‘उनीहरू सात समुद्रमुनि गए भने पनि म खोजेर निकाल्छु। हिसाब बराबर गर्नु मेरो स्वभाव हो’, सबैले तालीको गडगडाहटले उनको स्वागत गरे।

कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसका निर्देशक मिलन वैष्णव भन्छन्, ‘पाकिस्तान संकटले नरेन्द्र मोदीलाई एउटा स्वर्णिम अवसर जुराएको छ। राष्ट्रिय सुरक्षाको विषय नै यस्तो छ कि यसमा तुरुन्त निर्णय गर्ने र नेतृत्व गर्ने क्षमतामा मानिसहरूको सबैभन्दा बढी ध्यान जान्छ। मोदीले आफूमा यी गुण रहेको सम्प्रेषण गर्न सफल भए चाहे ती ठीक हुन् वा गलत।’

ब्राउन विश्वविद्यालयको सेन्टर फर कन्टेम्पोरेरी साउथ एसियाका निर्देशक आशुतोष वाष्र्णेय पनि भन्छन्, ‘यस्तो लाग्छ कि मोदी फेरि चुनावी युद्धमा फर्केका छन्। तर यो कथा फेरि पनि बदलिन सक्छ, किनभने कहीं न कहीं मोदीविरुद्ध मानिसहरूको असन्तोष हटिसकेको छैन र चुनाव प्रचार त भर्खर सुरु मात्र भएको छ। तर अहिले नै मोदीको ठोक्रोका बाण सकिए भन्ठान्नु केटाकेटीपन हुनेछ।’

आगामी लोकसभा चुनावको ‘एजेन्डा’ मोदी मात्र हुन्। अब भारतीय मतदाताले उनलाई ‘थम्स अप’ गर्छन् वा गर्दैनन्, त्यसको मात्र प्रतीक्षा छ। 

(साभार : बिबिसी)

प्रतिक्रिया दिनुहोस्