विप्लवका तीन कार्यकर्ताले पार्टी छाडे



काठमाडाैंः गोरखामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

विज्ञप्तिमा पार्टीले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै परित्याग गरेको उल्लेख गरिएको छ। ‘समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पुर्याउँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ।’

तिनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने उल्लेख गरिएको छ। गोरखा सिरानचोक गाउँपालिका–४चोरकाटे स्थायी ठेगाना भएका तीनै जना उक्त समूहमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्