विश्वविद्यालयका परीक्षा दसैंअघि नै



काठमाडौँ : विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने जनाएका छन् । उपकुलपतिहरूले परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका हुन् ।

कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने उनीहरूले जानकारी दिए ।

उपकुलपतिहरूका अनुसार असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।

सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जनाए । ‘साउन पहिलो सातादेखि लकडाउन खुकुलो भएर अवस्था सहज हुँदै जाँदा भदौमा परीक्षा लिने भनेका थियौं,’ उनले भने, ‘अवस्था बिग्रियो, परीक्षा स्थगित गर्नुपर्‍यो, अब असोजभित्र अन्य विधिबाट भए पनि परीक्षा लिन्छौं ।’

अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाए । वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ ।

त्रिविमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत ५ लाख ३८ हजारमध्ये ७७ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । विद्यार्थी संख्या धेरै भएका कारण पनि कोभिडका बेला पठनपाठन र परीक्षा सञ्चालनमा असहज भएको उपकुलपति बाँस्कोटाले गुनासो गरे ।

त्रिविले चैतदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो । हालसम्म १ लाख ४५ हजार विद्यार्थी, १६ हजार शिक्षक, कर्मचारीलाई इमेल आइडी वितरण गरिएको जनाएको छ । ४ हजार ५ सय शिक्षकलाई भर्चुअल कक्षासम्बन्धी क्षमता विकास तालिम दिइएको छ ।

काठमाडौं विश्वविद्यालय र खुला विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षा सञ्चालन गर्दै आएका छन् । अन्य विश्वविद्यालयले पनि अनलाइनसहित अन्य विधिबाट परीक्षा लिने तयारी गरिरहेको जनाए । दसैंअघि नै परीक्षा सञ्चालन गर्न सके शैक्षिक सत्रमा क्षति नपुग्ने उनीहरूको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले असोज मसान्तसम्म अनलाइन परीक्षा सञ्चालन गरिने जनाए । दसैं आउन ५४ दिन मात्रै बाँकी छ । ११ वटै विश्वविद्यालय त्यसअघि नै परीक्षा गर्ने तयारीमा जुटेका छन् । ‘दसैंअघि सबै परीक्षा सके, त्यसपछि नयाँ भर्ना लिएर पठनपाठन गराउन सहज हुन्छ,’ उनले भने । इन्टरनेट र अनलाइनको समस्या भए पनि शैक्षिक सत्र जोगाउन वैकल्पिक विधिबाट परीक्षा लिनुबाहेक अन्य उपाय नभएको उनले बताए । ‘अप्ठ्यारोभित्रबाटै समस्याको समाधान खोज्नुपर्ने बेला छ,’ कोइरालाले भने, ‘वार्षिक र सेमेस्टर दुवै प्रणालीको परीक्षा बन्दाबन्दी कायमै रहे पनि हुन्छ ।’

मध्यपश्चिम विश्वविद्यालयले पनि अनलाइन परीक्षाको तयारी अघि बढाएको जनाएको छ । ‘रोकिएका रिजल्ट प्रकाशित भइसके, अब रोकिएका परीक्षा लिने तयारी भइरहेको छ,’ उपकुलपति नन्दबहादुर सिंहले भने । कोरोना संक्रमितको संख्या थपिँदै गएकाले वैकल्पिक विधिबाहेक अन्य तरिकाबाट परीक्षा सञ्चालन गर्न सम्भव नरहेको उनले जनाए ।

‘चैतमा लकडाउन सुरु हुँदा फेसबुक मेसेन्जरबाट पढाइ र मिटिङ भएको थियो,’ उनले भने, ‘प्रश्नपत्र तयार पारेर दूरदराजका विद्यार्थीसम्म पुर्‍याउँछौं, उत्तर लेखेर इमेल गर भन्छौं ।’ सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अमनराज जोशीले पनि अनलाइन पठनपाठन र परीक्षाको तयारी गरिएको जनाए । उनले भने, ‘टेलिफोन सुविधा नभएका ठाउँमा पनि हाम्रा विद्यार्थी छन् तर प्रविधितर्फ उन्मुख हुनुको विकल्प छैन ।’

राजर्षि जनक र लुम्बिनी विश्वविद्यालयले पनि वैकल्पिक विधिबाट परीक्षा लिने चाँजोपाँजो मिलाएको जनाएका छन् । लुम्बिनी विश्वविद्यालयका उपकुलपति हृदयरत्न व्रजाचार्यले भाद्र २१ बाट अनलाइन परीक्षा हुने जनाए । ‘अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई रेकर्ड गरिएका पाठ उपलब्ध गराएका छौं,’ उनले भने, ‘अहिले जुन विधिबाट सकिन्छ, त्यहीबाट अघि बढ्ने हो ।’ राजर्षि जनक विश्वविद्यालयका उपकुलपति भरत झाले परीक्षा पछि गर्ने सर्तमा विद्यार्थीलाई कक्षा बढोत्तरी गरिएको बताए । ‘कोभिडले ६ महिनामा सक्नुपर्ने कोर्स पूरा गर्न ९ महिना लाग्यो, अनलाइनबाटै कोर्स सकेर भए पनि शैक्षिक क्षति हुन दिँदैनौं,’ उनले भने ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरूलाई एक साताभित्र शैक्षिक क्यालेन्डर सार्वजनिक गर्न र शैक्षिक सत्र खेर नजाने उपाय खोज्न निर्देशन दिइसकेका छन् । कोरोना जोखिमका बेला परम्परागत विधिबाट पठनपाठन र परीक्षा सम्भव नहुने उनको तर्क छ । विद्यालय तहमा वैकिल्पक कक्षाको प्रभावकारिताका विषयमा देशभरको अवस्था अनुगमन गरिरहेका उनले यस वर्षको शैक्षिक सत्र वैकल्पिक विधिबाटै सम्पन्न गर्न सुझाव दिएका छन् । ‘क्याम्पस प्रमुखले आफ्ना विद्यार्थी खोज्नुपर्छ,’ मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयका पदाधिकारीहरू समस्या समाधान गर्न लाग्नुपर्छ । डिन, क्याम्पस चिफलाई जिम्मा दिएको छु भन्ने अवस्था हैन ।’

छलफलमा नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्धबहादुर थापाले प्राध्यापक र विद्यार्थीलाई प्रविधिमैत्री बनाउँदै खुला र दूर शिक्षा लागू गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘विद्यार्थी र शिक्षकलाई सामग्री र इन्टरेनटको खाँचो छ,’ उनले भने, ‘सरकारको तत्परता, उपस्थिति, योजना र सहयोग चाहिएको छ ।’ शिक्षक विद्यार्थीको प्रविधिमा पहुँच विस्तार गर्न सके डिजिटल सिकाइलाई नै आधिकारिक शैक्षिक कार्यक्रमको मान्यता दिन सकिने उनले जनाए ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले पाठ्यक्रम र मूल्यांकन पद्धति परिवर्तन गर्न सक्ने मात्रै अहिलेको अवस्थामा शैक्षिक वर्ष खेर जानबाट रोक्न सकिने सुझाव दिए । ‘वैकल्पिक विधि भनेको अनलाइन मात्रै होइन, इन्टरनेटमा मात्रै सबैको पहुँच पनि छैन,’ उनले भने, ‘टीभी, रेडियो र प्रिन्ट सामग्रीलाई पनि सँगसँगै लैजान सके कुनै पनि विद्यार्थी पठनपाठनबाट वञ्चित हुन पर्दैन ।’

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्ष लाग्न सक्ने आकलन गरेको छ । विद्यार्थीले भने ६ महिनासम्म शिक्षा मन्त्रालय र विश्वविद्यालयहरूले शिक्षासम्बन्धी योजना ल्याउन नसकेकामा असन्तुष्टि जनाएका छन् । अनेरास्ववियुका नेता रश्मि आचार्यले विद्यार्थी कहाँ कस्तो अवस्था छन् भन्ने खोजेर पठनपाठनमा सहभागी गराउने दायित्व शिक्षण संस्थाको भएको जनाए । ‘लकडाउन सुरु भएको ६ महिना भयो, शिक्षा मन्त्रालय र विश्वविद्यालय गृहकार्य गर्दै छौं भन्छन्,’ उनले भने, ‘विद्यार्थी कोभिडसँगै पढाइ र परीक्षाको मनोवैज्ञानिक त्रासमा छन्, उनीहरूलाई यसबाट मुक्ति दिनुपर्‍यो ।’

पोखरा, संस्कृत र कृषि तथा वनविज्ञान विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी नियुक्ति नभएका कारण पनि वैकल्पिक पठनपाठन र परीक्षा प्रभावित हुँदै आएको विद्यार्थीको गुनासो छ । विद्यार्थी संघ संगठनले पदाधिकारी नियुक्त गर्न सरकारसँग माग गर्दै आएका छन् ।

कुन विश्वविद्यालयमा कति विद्यार्थी ?

विश्वविद्यालय विद्यार्थी संख्या

१. त्रिभुवन ४,१५,४८२

२. पूर्वाञ्चल ४६,१९०

३. पोखरा ३०,७४९

४. काठमाडौं १६,४३६

५. सुदूरपश्चिम १०,११

६. मध्यपश्चिम ५,७२१

७. कृषि तथा वनविज्ञान ३,८७१

८. नेपाल संस्कत २,७२१

९. लुम्बिनी बौद्ध ७१३

१०. नेपाल खुला ६८०

११. राजर्षि जनक १९१

१२. स्वास्थ्य विज्ञान प्रतिष्ठान (६ वटा) ३,२४७ कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्