सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढ्यो



काठमाडौं : सेयर कारोबार मापन नेप्से परिसूचक सोमबार २१.२६ अंकले बढेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेर करिब २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ  ।

कारोबारमा आएकामध्ये होटलबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो । सो दिन समग्र नेप्से परिसूचक १ हजार ४ सय ३१.६० बिन्दुमा उक्लेको छ ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.२४ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.५५ प्रतिशत बढेको छ । कोरोना महामारी र निषेधाज्ञाका कारण दोस्रो बजारमा ९० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट हुँदै आएको नेप्सेले दाबी गरेको छ ।

अवधिमा अनलाइन युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या पनि बढ्दै गएको नेप्सेले जनाएको छ ।

सोमबार करिब साढे २७ हजार कारोबारबाट १ सय ८२ कम्पनीको ४९ लाख २४ हजार ३ सय कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये १ सय ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

सो दिन होटल समूहको बाहेक अन्य समूहको परिसूचक बढेको छ । होटल समूहको परिसूचक ०.०९ प्रतिशच घटेको छ । तर, सो दिन लघुवित्त समूहको परिसूचन सबैभन्दा बढी २.३४ प्रतिशतले बढेको छ ।

सोमबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.३३, बैंकिङको १.३६, व्यापारिक समूहको १.५९, विकास बैंकको ०.९९, जलविद्युतको ०.७६, वित्त कम्पनीको ०.५६ प्रतिशत, निर्जीवन बिमाको १.८५, अन्यको १.४८, जीवन बिमाको १.८७ र सामूहिक लगानी कोषको ०.२९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्