६ सय ४३ केजी लागुऔषधसहित एक महिला पक्राउ



धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नं ७ पेटारबाट प्रहरीले प्रतिबन्धित लागुऔषध चरेश र गाँजासहित १  महिलालाई पक्राउ गरेको छ। चरेश बनाउने तयारी अवस्थामा राखिएको धुलो, तयार गरिएको चरेश र गाँजासहित महिलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।

काठमाडाैंबाट आएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले सुराकीका आधारमा लागुऔषध बरामद गरेको हो। गजुरी गाउँपालिकाको वडा नं ७ पेटार बस्ने सुकमान तामाङको घरमा चरेश बनाउने कारखाना नै संचालनमा रहेको विशेष सुराकीपछि घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद गरेको इलाकी प्रहरी कार्यालय गजुरीका प्रमुख नवराज ढुङगेलले जानकारी दिए।

‘जिल्लाको राजमार्ग हुँदै विभिन्न ठाउँमा अवैध लागुऔषध बिक्री हुँदै छ भन्ने सुचना आयो’, प्रमुख ढुङगेलले भने, ‘अवैध रुपमा लागुऔषध गाँजा खरिद तथा संकलन गरि चरेश तयार गर्ने, बिक्री वितरण र ओसारपसार गर्ने गरेको गोप्य सुचनाका आधारमा लागुऔषध बरामद गर्न सफल भएका हौँ।’

सुकमान तामाङको घर, भैसी बाध्ने गोठ, र आगँनबाट गरि १ सय १० केजी तयारी अवस्थाको चरेश,  ५ सय ३३ केजी चरेश बनाउन प्रयोग गरिने गाँजाको धुलोसहित सुकमान तामाङकी श्रीमती सुकमाया तामाङलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकी सुकमायालाई जिल्ला अदालत धादिङबाट म्याद थप गराई थुनामा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश विष्टले जानकारी दिए। 

चरेश पक्राउ पश्चातको प्रारम्भिक अनुसन्धानको क्रममा सुकमान तामाङले बनाएको चरेश भारततर्फ निकासी हुने गरेको समेत खुलेको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जानकारी दिएको छ। सुकमान तामाङ भने घरमा नभेटिएको र उनको खोजीका लागि प्रहरी परिचालन गरिएको डिएसपी विष्टले बताए। धादिङ प्रहरीले यो आर्थिक वर्षमा राजमार्ग क्षेत्रबाट पटक–पटक ठूलो परिणाममा चरेश र गाँजा बरामद गर्दै आइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्