सुदूरपश्चिमका विभिन्न जिल्लामा थपियो निषेधाज्ञा



काठमाडौं : सुदूरपश्चिमका विभिन्न जिल्लामा जारी निषेधाज्ञा बढाइएको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेसँगै निषेधाज्ञा लगाइने भएको हो ।

डडेल्धुरामा जारी निषेधाज्ञा आगामी भदौ १९ गतेसम्म थपिएको छ भने डोटीमा पनि भोलिदेखि निषेधाज्ञा लगाइने भएको छ ।

डडेलधुराको जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको हिजो बसेको बैठकले १९ गतेसम्म निषेधाज्ञा थपेको हो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

डोटीमा भोलि राति १२ बजेदेखि २१ गते आइतबार रातिसम्म लागू हुने गरी निषेधाज्ञा लगाइने भएको छ ।

जिल्लाभित्र कोरोना महामारीको असर बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचार सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी कोरोना संक्रमण रोकथामका लागि कैलालीमा पनि भदौ १९ गतेसम्म निषेधाज्ञा लगाइने भएको छ ।

प्रकाशित : भदौ १३, २०७७

प्रतिक्रिया दिनुहोस्