प्रदेश-२ का सबै जिल्लामा पीसीआर ल्याब सहितका सुविधाहरु एक महिना भित्र परिपूर्ति हुने : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब सहितको अन्य सुविधाहरु एक महिना भित्रै परिपूर्ति हुने आश्वासन दिएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रदेशका सबै जिल्लामा उपलब्ध गराएको स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न समेत उनले सरोकारबाला निकायलाई निर्देशन दिएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव लिन सिरहा र सप्तरीका सरोकारबालाहरुसँग लहानमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राउतले भने,‘महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्री सहितका लागि आवश्यक रकम पठाईसकेको छ, र अगामी दिनमा समेत यसमा सरकारले कुनै कमी हुन दिने छैन् ।’ उनले विगतमा पठाइएको रकमहरु जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेका कारण समस्या उत्पन्न भएकोले आगामी दिनमा त्यसो नगर्न आग्रह समेत गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना महामारी नियन्त्रणका लागि परिक्षण र उपचारका साथै जनचेतना फैलाउनु समेत आवश्यक रहेको बताए । उनले भने,‘यस महामारीको निदान उपचारले मात्र सम्भव छैन्, सबै नागरिकलाई सचेत हुनु पनि आवश्यक छ । त्यसका लागि जनचेतना फैलाउनु पर्दछ ।’

No description available.

कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री एवं विज्ञ समूहका सदस्य डा.सृुरेन्द्र यादवले कोरोना महामारीको उपचारलाई अनावश्यक रुपमा जटिल बनाउन खोजिएको भन्दै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गर्दै अघि बढन सुझाव दिएका थिए ।

कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सशस्त्र प्रहरी एवं अनुसन्धानका डिआइजीहरु, नेपाल प्रहरी एवं नेपाली सेना प्रदेश कार्यालयका प्रतिनिधिहरु, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि पर्सा, बारा, रौतहट र सर्लाहीका सरोकारबालाहरुसँग यसअघि नै सुझाव लिई सकिएको छ भने मंगलबार धनुषा र महोत्तरीका सरोकारबालाहरुसँग छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्