पिसिआर मेसिनका लागि मोबाइलमा एसएमएस पठाएर दबाब



नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाभित्रै कोरोना परिक्षणको व्यवस्थापनका लागि युवाको समूहले जनप्रतिनिधिसहित मन्त्रीसमक्ष दबाब सृजना गरेका छन् ।

युवाहरुले पिसिआर मेसिन जिल्लामा कहिले आउछ ? भनि उल्लेख गरिएको सन्देश जनप्रतिनिधिको मोबाइलमा एसएमएस पठाएर दबाब सृजना गरेका हुन् । यसरी एसएमएस पठाइएका व्यक्तिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, प्रदेश न. ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कडेँललगायत रहेका छन् ।

करीब दुई सय युवाले एकै साथ कोरोना घर घरमा आइसक्यो, हजुरले पिसिर मेसिन कहिले ल्याउनुहुन्छ भनेर उल्लेख गरिएको सन्देश एसएमएसमार्फत जनप्रतिनिधिलाई पठाएका हुन । यसैगरी एसएमएस पठाइएका अन्यमा प्रदेशसभा सदस्य, जिल्लास्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित अन्य सरोकारवालासमेत रहेका छन् ।

सङ्क्रमितको अवस्था बुझ्न घरदैलो अभियान

होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि प्रतापपुर गाउँपालिकाको टोलीले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान सञ्चालन गरेको छ ।

होम आइसोलेसनमा बसेका सङ्क्रमित र तिनका परिवारलाई भेट्न कार्यबाहक अध्यक्ष अन्जु चौधरी, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखसहितको स्वास्थ्यकर्मीको टोली घर घरमा पुग्ने गरेको हो ।

टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको बताइएको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो गरिएको कार्यबाहक अध्यक्ष चौधरीले बताए । प्रतापपुरमा अहिलेसम्म २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्