पूर्वराष्ट्रपति मुखर्जीले जनकपुरमा गरेको घोषणा अपूरै



जनकपुरधाम : भारत गणराज्यका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनसँगै उनले जनकपुरधाममा गरेको बाचा अपुरै रहेको छ ।

भारतको राष्ट्रपति रहेको समयमा २०७३ साल कात्तिक २९ गते सोमबार नेपालको तीन दिवसीय राजकीय भ्रमणको क्रममा जनकपुरधाम आएका मुखर्जीले प्राचिन नगरी जनकपुरधाम आउने तीर्थयात्रीहरुको सुविधाका लागि भारत सरकारद्धारा जनकपुरधामको परिक्रमा सडकखण्डमा दुई वटा धर्मशाला निर्माण गर्ने घोषणा गरेका थिए ।

जनकपुरधामस्थित तिरहुतिया गाछीको मैदानमा राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा मिथिलावासीहरुको तर्फबाट आयोजित नागरिक अभिनन्दन समारोहमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले नेपाल र भारतबीचको अटुट सम्बन्धमाथि चर्चा गर्दै जनकपुरले भारतको विभिन्न धर्मस्थललाई धार्मिक आस्थासँग जोडेकाले भारत सरकार यस क्षेत्रको विकासमा गम्भीर रहेको उद्घोष गरेका थिए ।

आफ्नो १३ मिनेटको सम्बोधनमा उनले भनेका थिए, ‘यो क्षेत्रको सडक, विद्युत, औद्योगिक क्षेत्रलगायत अन्य विकासका कार्यमा पनि भारत सरकारले निरन्तर सहयोग जारी राख्ने छ ।’

मुखर्जीले घोषणा गरेको ४ वर्ष बितिसक्दा समेत तिर्थालुका लागि धर्मशाला निर्माण सम्बन्धी कुनै प्रक्रिया अगाडी बढ्न सकेको छैन । भारतीय दूतावासले जिल्ला प्रशासन कार्यालय धनुषालाई धर्मशाला निर्माणका लागि समन्वय गरिदिन पत्राचार गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदलाई डिपिआर तयार गर्न भनेको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष बलराम ठाकुरले भने, ‘बृहत्तरले धर्मशाला निर्माणका लागि डिपिआर समेत तयार गरेर बुझायो । हामीले महोत्तरीको मटिहानी र जनकपुरधामस्थित एयरपोर्ट नजिकै जग्गाका लागि समेत पहल गरेका थियौं । तर, बिचमा बन्दाबन्दी भएपछि थप काम अगाडी बढ्न सकेन ।’

जनकपुरधाम भ्रमणको क्रममा राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको अतिथी आगन्तुक पुस्तिकामा लेखेका थिए,‘जनकपुर की इस पावन नगरी में जानकी मंदिर का यह दर्शन मेरे लिए यादगार है । यह महत्वपूर्ण तीर्थ स्थल भारत और नेपाल के सांस्कृतिक और आध्यात्मिक संबंधों में एक महत्वपूर्ण केन्द्र विन्दु है । मुझे विश्वास है कि जनकपुर और भारत की प्राचीन नगरी अयोध्या के बीच जुडवां शहर समझौते से हमारे दोनों देशों के बीच के घनिष्ट संबंध और भी मजवूत होंगे । इससे हमारे दोनों देशों के बीच, विशेष रुप से इस क्षेत्र में व्यापार और पर्यटन के विकास में, लोगों के आपसी सहयोग में वृद्धि होगी ।

अपनी राजकीय यात्रा के दौरान मुझे यह घोषणा करते हुए प्रसन्नता हुई है कि भारत सरकार द्धारा जनकपुर धाम के परिक्रमा पथ पर दो धर्मशालाओं का निर्माण किया जाएगा जिससे इस प्राचीन नगरी में आने वाले तीर्थयात्रियों को सुविधा होगी ।’

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्