कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



तिलोत्तमा : रुपन्देहीमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु–११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

बुधबार बिहान उपचारका क्रममा ती महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यही भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखेर उपचार हुँदै आएको थियो । पहिलोदेखि उच्च रक्तचापकी बिरामी रहेकी ती महिलामा श्वासप्रश्वासको समस्या ज्वरोसमेत आएको डा. गौतमले बताए ।

अहिले कोरोना विशेष अस्पतालको सामान्य कक्षमा १६, आईसीयूमा १५ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । यससँगै लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा २ जनाको मृत्यु भएको थापाले जानकारी दिए ।

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्