उपत्यकामा पुनः लम्ब्याइयो निषेधाज्ञा



काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साता लम्ब्याइएको छ । बुधबार गृह मन्त्रालयसँगको छलफलपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका हुन् ।

तर, यसपटक केही सेवा सञ्चालनका लागि छुट दिइएको छ । यसबारे केहीबेरमा सूचना जारी गरेर जानकारी गराइने एक प्रमुख जिल्ला अधिकारीले बताए ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले भदौ ३ गतेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । त्यसपछि भदौ १० गते पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्